१६ माघ, काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी, बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका बनाएको जानकारी दिए ।
आयोगले १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते मनोनयन पत्र दर्ता गर्ने, १३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, १४ गते उम्मेदवारको बिरुद्धमा उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।