
धनगढी । धनगढीमा गर्भपतन गराउने औषधी खादा उच्च रक्तश्राव भएर एक महिलाको मृत्युु भएको छ ।

धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधी किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधी खाएको बताए । औषधी खाएपछि उच्च रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी चन्दले बताए ।
मृतकका आफन्तले क्लिनीकले जथाभावी औषधी दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।