काठमाडौं । काठमाडौं जिल्ला अदालतले सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले डा. शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा। रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, रौतहटका डा। रामबाबु यादव र डा। एरिना शाहलाई पक्राउ गरेको थियो ।
यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा। पुनम थापा चौधरी पक्राउ परेका थिए । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।
स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ७ जना पक्राउ परेकामा शर्मालाई अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।