बढुवा प्रक्रिया रोकेपछि आन्दोलनमा खेलकुदका कर्मचारी

kmc

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा रहेका विभिन्न खेलका प्रशिक्षकसहित उपत्यकाका तीन जिल्लाका कर्मचारीले आफूहरूको बढुवा प्रक्रिया रोकिएको भन्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेका छन् ।

तीन जिल्लाका कर्मचारीहरूले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार कोणसभा आयोजना गर्दै आन्दोलन सुरु गरेका हुन् । देशभर ७७ जिल्ला र केन्द्रमा गरेर करारसहित करिब आठ सयभन्दा बढी कर्मचारीहरू नेपाली खेलकुदमा कार्यरत छन् । तीमध्ये करिब चार सय जनाको पछिल्ला समय बढुवा प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । यद्यपि, बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पु¥याइरहेको राखेपका कर्मचारीको आरोप छ ।

suklaphata

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रवार राखेपका तीन जिल्लामा रहेका प्राविधिक र प्रशासनिक कर्मचारीले कोणसभा आयोजना गर्दै पहिलो चरणको आन्दोलन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको नेतृत्वमा शुक्रबारदेखि आन्दोलन सुरु भएको हो । राखेपमा करिब तीन दशकसम्म कर्मचारीको बढुवा हुन सकेको छैन । केही खेलका प्रशिक्षकले पनि दुई दशकदेखि एउटै पदमा रहेर काम गरिरहेका छन् ।

यद्यपि, राखेपको नेतृत्वमा पछिल्ला समय उनीहरूको बढुवा प्रक्रिया अगाडि बढिरहेको थियो । जसअन्तर्गत तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रियाको काम अन्तिम चरणमा पुगेपछि युवा तथा खेलकुद मन्त्रालयले रोकेको कर्मचारीले आरोप लगाउँदै आएका छन् । कर्मचारीहरूले आफूहरूको माग सुनुवाइ नभएमा थप कडा आन्दोलन गर्दै जाने चेतावनी दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ति समितिले करिब चार सय कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाएका थिए ।

तर, समितिमा रहेका पाँच सदस्यमध्ये मन्त्रालयका प्रतिनिधिले भने बढुवा प्रक्रिया रोकेको राखेपका कर्मचारीको आरोप छ । शुक्रबार भएको कोणसभा कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट र तेक्वान्दोका प्रशिक्षक नोर्बु लामाले १९ वर्षसम्म पनि सहायक प्रशिक्षक भएर काम गर्नु पीडादायी स्थिति रहेको बताएका थिए । राखेपका प्रचारप्रसार शाखाका प्रमुख खुसराज दाहालले दुई दशकभन्दा बढी समय एउटै पदमा काम गरिरहेका कर्मचारीको हुन लागेको बढुवा प्रक्रियामा अवरोध पु¥याउने कामले सम्पूर्ण कर्मचारी निरुत्साहित भइरहेको धारणा राखे ।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत तीन दिनसम्म कालो पट्टी बाँधेर काम गर्ने कर्मचारी संघले जनाएको छ । आफूहरूको माग सुनुवाइ नभए प्रशिक्षकहरू प्रशिक्षण कार्यक्रम नै नगर्ने र प्रशासनिक कर्मचारीले कलम बन्द गर्ने लगायत कठोर आन्दोलन गर्ने चेतावनी कर्मचारी संघले दिएको छ । यसो भएमा १९ औं एशियाली खेलकुद खेल्ने खेलाडीको तयारीमा पनि अवरोध हुन सक्नेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...