धनगढी । उनी बिहान स्नातक र दिउँसो माध्यामिक तहमा पढाउँछन् । अर्थात् पूर्णकालीन अंग्रेजीका उपप्राध्यापक हुन् । विद्यालय र विद्यार्थीसँग साइनो जोडिएको एक दशक नाघिसक्यो । विद्यार्थीका लागि उनी कर्ण बोहरा सर हुन् । दुई वर्षयता उनको नयाँ परिचय पनि थपिएको छ( ‘ड्रागनवाला सर ।’
धनगढीको एसपीए कलेजमा अध्यापनरत् बोहराले धनगढीकै उत्तरबेहडीमा दुई वर्षअघि रोपेको ड्रागनले अहिले फल दिने बेला भएको छ । आफूलाई पढाएका विद्यार्थी उत्कृष्ट हुँदा उनलाई जति धेरै खुसी मिल्छ त्यस्तै खुसी ड्रागनका नयाँ मुना पलाउँदा र फूल फूल्दा पनि हुन्छ । ‘प्रत्येक दिन ड्रागनका नयाँ टुसाहरु पलाएको देख्दा मन प्रसन्न हुन्छ । सेता फूलहरु देख्दा वर्षभरिका दुःखहरु बिर्सिन्छु,’ बोहरा भन्छन् ।
कलेजबाहेकको सबै समय उनले यही बारीमा खर्चने गरेका छन् । उनी कलेज जाँदा परिवारका सदस्यले हेरचाह गर्छन् । आवश्यक पर्दा थप मानिसहरुलाई ज्यालामा काममा लगाउँछन् ।
अन्तर्वार्ताबाट ड्रागन फ्रुटमा आकर्षित
एक दिन युटुयुब हेरिरहेका बेला डा. जगन्नाथ राईसँगको अन्तर्वार्ताले उनलाई तान्यो । राई तीनै व्यक्ति हुन्, जसलाई नेपालमा ड्रागन खेती भित्र्याउने श्रेय जान्छ । अन्तर्वार्तामा राईले ड्रागनको बहुउपयोगिता बताएका थिए । ड्रागन स्वास्थ्यका लागि अत्यन्त लाभदायी र पोषणयुक्त भएको सुनेपछि कर्ण बोहरालाई यसप्रति चाख जाग्यो र यसबारे थप खोजीमा लागे ।
त्यो त्यही समय थियो, जतिबेला पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टले पनि ड्रागन खेती सुरु गरेका थिए । मन्त्रीले नै परम्परागत भन्दा फरक कृषि उद्यम थालेपछि ड्रागनको चर्चा हृवात्तै चुलिएको थियो । त्यसको केही समयपछि कर्ण सरले शिक्षणबाट कमाएको आफ्नो थोर बहुत पुँजी ड्रागन खेतीमा लगाए ।
ड्रागन खेती गर्ने रहर जागिसकेपछि उनी कहिले काभ्रेको नमोबुद्ध, कहिले काठमाडौंको बुढानीलकण्ठ, चितवन र दाङका ड्रागन फर्ममा पुगे । हेरे र खेतीबारे बुझे । अध्ययन र पुँजी जुटाउँदा र जमिन खोज्दा झण्डै दुई वर्ष पुगिसकेको थियो ।
त्यसपछि धनगढीको उत्तरबेहडीमा अवस्थित प्रसिद्ध शिवपुरी धामको ठिक पछाडि १३ कठ्ठा जग्गा भाडामा लिएर उनले ड्रागन खेती सुरु गरे । उनको काममा बुबा र श्रीमतीको पनि साथ मिल्यो ।
‘ड्रागन खेतीका लागि पानी नजम्ने जमिन चाहिन्छ । त्यसनुसारको संरचना बनाउनमात्रै मैले यस जमिनलाई १२ पटक जोतेको छु,’ बोहरा भन्छन्, ‘त्यो बेला ड्रागन खेतीबारे खासै ज्ञान थिएन । सिक्दै, सोध्दै नर्सरी सारें । अहिले फल लाग्ने बेला भएको छ ।’
जमिनको संरचना मिलाउँदै पोल गाड्ने काम भइसकेपछि बेर्ना लिन उनी दाङमा रहेको पूर्वमन्त्री लोकेन्द्रबहादुर विष्टको फर्ममा गएका थिए । त्यहीँबाट ल्याएको थाइल्याण्डको टिपिकल भेराइटीका ड्रागन उनको बारीमा अहिले फलेका छन् ।
बोहराका अनुसार एकचोटी लगाएको बिरुवाले डेढ दशकसम्म फल दिन्छ । एउटा पोलमा लगाइएका ३ वटा हाँगाले वर्षमा ५० केजीसम्म फल दिन सक्छन् । ‘बिउ राम्रो भए, म्याचुअर भए, रोपेको ७ महिनामै फल्छ र एक पटक लगाएपछि कम्तीमा १५ वर्ष फल दिन्छ,’ उनी भन्छन्, ‘बाह्रैमास बोटभरि झुप्पै फल्ने भएकाले पनि अन्य कृषि बाली भन्दा यसमा कम मिहिनेत र बढी आम्दानी पाउन सकिन्छ ।’
बोहराका अनुसार दुई वर्षको अवधिमा उनको ६० लाख रुपैयाँ खर्च भइसकेको छ । उनले १० वर्ष बढी शिक्षण पेशाबाट कमाएको सम्पूर्ण पुँजी यसैमा खर्चिएका छन् र उत्पादन सुरु भएको छ । अहिले थोरै मात्रामा फलेकाले बजारको समस्या छैन । तर अब ठूलो मात्रामा उत्पादन सुरु भयो भने बजारीकरणका लागि सरकारले सहयोग हुनुपर्ने उनी बताउँछन् ।
‘मार्केटको अहिले समस्या छैन । अहिले कम उत्पादन भएर मैले मागअनुसार पुर्याउन सकिरहेको पनि छैन,’ बोहरा भन्छन्, ‘पछि ठूलो मात्रामा फल्छ । त्यसबेला मार्केटको ग्यारेन्टी गरिदिए ड्रागन खेती गर्नेहरुलाई उत्साहित भएर कर्ममा लाग्न प्रोत्साहन पुग्छ ।’
एक पूर्णकालीन शिक्षक कृषि कर्ममा लाग्दाको अनुभव कस्तो छ त रु उनको जवाफ छ, ‘जे गरेपनि उदाहरणीय बन्न प्रयास गर्नुपर्छ । अरुलाई प्रेरणा मिल्ने कुरा गर्नुपर्छ । यत्रो पढेको लेखेको मान्छे के गरेको भन्थे पहिले । अहिले सबैले बुझिसकेका छन् । राम्रो गरेको छ भन्छन्, खुशी लाग्छ ।’