माओवादी–नेसपा वार्ता : बाबुरामसहित पार्टी एकताको प्रयास

Nisharg hospital

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा)ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । त्यसको पूर्वसन्ध्यामा दुबै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ ।

नेसपाका वार्ता टोली संयोजक एवं पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘हामीले दुबै पार्टीलाई अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन र त्यहीँ वैचारिक र नीतिगत विषयहरुमा छलफल गरेर टुंग्याउन सुझाएका छौं ।’

श्रेष्ठ र माओवादीबाट वार्ता टोली संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महराले जारी गरेको संयुक्त वक्तव्यमा पनि विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्न दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको उल्लेख छ ।

शुक्रबार साँझको भेट

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति नयाँ होइन । पार्टी एकता गर्ने सहमतिअनुसार नै नेसपाले २०७९ मंसिरको चुनावमा माओवादीकै चुनाव चिह्नबाट उम्मेदवारहरु उठाएको थियो । गत चैतमा नेसपाले पार्टी एकताको आधार भन्दै माओवादीलाई ९ बुँदे पत्र पनि पठायो, तर पार्टी एकता प्रक्रिया अगाडि बढेन ।

बरु डा। बाबुराम भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डको दूरी बढ्यो । प्रचण्डले आफूलाई समाजवादी मोर्चामा समेत नराखेपछि भट्टराई माओवादी केन्द्रसँग एकता नगर्ने मुडमा पुगे ।

पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ तत्काल माओवादीसँग पार्टी एकताको पक्षमा थिए । त्यसैले प्रचण्डले भदौ अन्तिममा पार्टी एकतालाई लिएर नेसपाका अर्का अध्यक्ष यादवलाई पत्र लेखेपछि भट्टराई रुष्ट भए ।

kailali udhog

नेताहरुका अनुसार नेसपा त्यहीबेला फुटको संघारमा पुगेको थियो । माओवादीले पनि एउटा समूह मात्र ल्याउन जोड दिएन, माओवादीसँग एकताको पक्षमा रहेका नेसपाका नेताहरु पनि डा। भट्टराईसहित पार्टी एकता गर्ने पक्षमा देखिएपछि फुट रोकिएको थियो ।

तर माओवादी र नेसपाबीचको एकता प्रक्रिया पनि अगाडि बढेन । डा। भट्टराईले पार्टीको बैठक बोलाएपछि अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठ लगायतका नेताहरु माओवादीसँग एकता गरिहाल्ने लबिङमा जुटे । भट्टराईसहित एकता गर्ने प्रचण्डको चाहना बुझेका उनीहरुले दुई नेताबीच सम्वाद गराउन पहल थाले ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार साँझ पूर्वसहकर्मी भट्टराईलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाए । भेटमा उनले पार्टी एकता अगाडि बढाउने प्रस्ताव राखे । ‘तपाईंको पार्टीका साथीहरूको पनि दबाब छ, पार्टी एकता गरेर जाऊँ’ प्रचण्डको भनाई उधृत गर्दै नेसपाका एक नेताले भने, ‘बरु तपाईं र मेरै नेतृत्वमा पार्टी संयोजन समिति बनाएर जाऔं, त्यसो गर्दा संवाद थप प्रभावकारी हुन्छ ।’

नेताहरुका अनुसार माओवादी केन्द्रभित्र बाबुरामसहित एकता परिणाममुखी हुने बुझाइ बनेको देखिन्छ । दुवै पार्टीका अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने प्रचण्डको प्रस्तावले यही सन्देश दिएको उनीहरु बताउँछन् ।

‘गणतन्त्रविरुद्ध प्रतिगामीहरू एकजुट बनिरहेका छन्, शान्ति प्रक्रियाका काम बाँकी नै छन्, अलि ठूलै पहलकदमी नलिइकन अगाडि बढ्न मुस्किल छ’, शुक्रबार साँझ बाबुरामसँगको संवादमा प्रचण्डको भनाइ उद्धृत गदै नेसपाका एक नेताले भने, ‘अलि ठूलै एकता नगरी हुँदैन, हामीले एकता गरेर एउटा सन्देश दिऔं र समाजवादी केन्द्रको पक्षमा माहौल बनाऔं ।’

उक्त भेटमा डा। भट्टराई भने तत्काल पार्टी एकता गर्ने पक्षमा देखिएनन् । ‘उहाँले कुरा ठीकै हो, तर संयोजन समिति पछि बनाए पनि हुन्छ भन्ने जस्तो कुरा गर्नुभयो’, ती नेताले भने ।

नेसपाका एक नेताका अनुसार भट्टराईले आफू तत्काल कम्युनिष्ट एकताको पक्षमा नरहेको भन्दै एकता नै गर्ने भए बृहत वाम एकता गर्नुपर्ने धारणा राखेका थिए ।

डा। भट्टराई सकारात्मक नभएपनि आइतबार दुबै दलको वार्ता समितिको बैठक बसेर प्रचण्डकै प्रस्तावअनुसार पार्टी एकता संयोजन समिति बनाउन सुझाव दिएको छ ।

नेसपाका नेताहरुका अनुसार मंसिर ६ र ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा संयोजन समिति बनाएर एकता अगाडि बढाउने यादव पक्षको तयारी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...