
धनगढी । शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका १८ जना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले महेन्द्रनगर बजार बन्द गरेको छ ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रर्दशनका क्रममा स्थानीय भीमदत्त उद्यान(पार्क)भित्र प्रवेश गरेर शहीद पन्तको शालिक तोडफोड गरेको आरोपमा प्रहरीले जिल्ला सचिव शिशिर थापासहितका १८ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको निशर्त रिहाइको माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार अनिश्चितकालीन बन्दको आह्वान गरेको हो । राप्रपाको बन्दका कारण कञ्चनपुर सदरमुकाम समेत रहेको महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बन्दका कारण बजार व्यवसाय सञ्चालन हुन नसकेको बताए । उनकाअनुसार लामो तथा छोटो दुरीका सवारीसाधन समेत चल्न सकेका छैनन् ।
प्रहरीकाअनुसार यातायात व्यवसायीहरुलाई बन्दका कार्यक्रमलाई सहयोग गर्न राप्रपाले आग्रह गरेपछि साँझ ४ बजेसम्म सवारीसाधन नचलान उनीहरु सहमत भएका थिए ।
राप्रपाको प्रर्दशनका क्रममा भीमदत्त उद्यानको मूल गेटमा लेखिएको नाम र शहीद भीमदत्त पन्तको शालिक शुक्रबार तोडफोड गरिएको थियो । महेन्द्रनगर बजार क्षेत्रमा प्रर्दशन गर्न निस्किएको भीड एकाएक पार्कभित्र प्रवेश गर्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा लिएको थियो ।
प्रहरीले शालिक तोडफोडमा संलग्न भएको भन्दै राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावलसहितका १८ जनालाई पक्राउ गरेर नियन्त्रणमा राखेको छ । आज शनिबार भएकाले उनीहरु सबैलाई आइतबार अदालत पेश गरिने प्रहरीले जनाएको छ ।
राप्रपा कञ्चनपुरले भने भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ ।
जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर पक्राउ गरेका १८ जना नेता तथा कार्यकर्ताको निशर्त रिहाइको माग गरेका छन् ।
तर नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले भने शहीद भीमदत्तको शालिक तोडफोडमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले शालिक तोडफोड गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
