
दार्चुला । दार्चुलाका दुई स्थानीय तहले दुई दिन सार्वजनिक विदा दिएका छन् । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएका हुन् ।

राष्ट्रकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् । हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गर्दछ ।
कार्तिक शुक्ल पूर्णिमाको बिहान सम्मै धाममा पूजाआजा हुने भएकाले आज र भोलि दुई दिन बिदा दिइएको जनाएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा आज र भोलि बिदा रहेको जनाइएको छ ।

जिल्लाको महाकाली नगरपालिकाले बिदा दिएको छैन। महाकाली नगरपालिका भित्रका २ वटा सामुदायिक विद्यालयहरूले भने २ दिन सार्वजनिक बिदा दिएका छन्। श्री राष्ट्रिय माबी दत्तु र श्री मालिकार्जुन नमुना मावि धापले बिदा दिएको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।
मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थीसमेत पुग्ने गरेका छन्। मालिकार्जुन धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। मालिकार्जुन मन्दिरमा भक्तजनहरुको निकै घुइँचो रहेको छ। मन्दिर व्यवस्थापन परिसरमा सुरक्षा कडा पारिएको छ ।
जात्रलाई शान्ती सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको नेतृत्वमा २ सय जना नेपाल प्रहरी ८० जना सशस्त्र प्रहरी र अन्य प्रहरी गरि ३ सयको हाराहारीमा सुरक्षा खटिएको प्रहरी प्रमुख शिव बहादुर सिंहले जानकारी दिए।
उनले आज लाग्ने जात्रामा ६ जना इन्स्पेक्ट्रहरु ३ दिन अगाडि देखि नै सुरक्षामा खटिएका छन् ।
मदिरालाई पूर्ण रूपमा निषेध गरिएको छ । हिजो मात्रै १ ट्रक मदिरा प्रहरीले बरामद गरेको छ ।
