महेन्द्रनगर । शहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका १८ जना नेता तथा कार्यकर्ताविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त उद्यानभित्र प्रवेश गरी शालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राप्रपाका जिल्ला सचिव शुशिल थापासहितका १८ जनाविरुद्ध कञ्चनपुर प्रहरीले आइतबार मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाले राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
नेतृ लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल, आकाश जोशी, विनोद चन्द, कृष्णबहादुर चन्द, रमेश बाग, कमलेशसिंह ठकुरी, भूपेन्द्रराज पन्त, मोहितप्रसाद पन्त, उपदेश सिंह, विराट विष्ट, कमल चन्द, सुजल खड्का, विवेक चन्दविरुद्ध मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाइएको बताए ।
राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विरोध प्रदर्शन थियो । प्रदर्शनका कार्यक्रममा आन्दोलनकारीले पार्कभित्र रहेको सालिक तोडफोड गरेका थिए ।
