धनगढी । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन थप लम्बिने भएकाे छ ।
अधिवेशन आइतबारदेखि साेमबारसम्म चल्ने भनिएपनि एक दिन ढिलोगरि मंगलबार(आज) दिउँसो २ बजेपछि मात्र निर्वाचन कमिटीले प्रक्रिया अघि बढाएकाे थियाे तर प्राविधिक कारण देखाउँदै बुधबार (भाेलि) बिहान ८ बजेसम्मका लागि भन्दै सबै प्रक्रिया राेकिएकाे छ ।
प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मलाई निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए ।
यसअघि निर्वाचन किमिटिले राति सवा १० बजेसम्म उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरेर बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानकाे समय ताेकेकाे थियाे ।
तर उक्त तालिकालाई थाति राखेर निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हाे । जसका कारण अधिवेशन केही दिन थप लम्बिने देखिएकाे छ ।
अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातभरि सहमतिकाे प्रयास गर्न नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रियामार्फत अघि बढ्न भनेका थिए ।
तर नेताहरूले सहमतिकाे प्रयास भइरहेको भन्दै निर्वाचन कमिटीलाई भाेलिसम्म प्रक्रिया
स्थगित गर्न आग्रह गरेका हुन् ।
अध्यक्षसहितका पाँच पदाधिकारी समेतका
१५२ सदस्यीय जिल्ला कमिटि चयन गर्न ५९१ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घाेषणा गरेका छन् भने अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुंगाना नेताहरूसँग छलफलमै छन् ।
जाेशीले प्यानलसहित उम्मेदवारी घाेषणा गरेपनि सहमतिमै नेतृत्व चयन गर्न छलफल भइरहेकाे नेताहरू बताउँछन् ।