सुदूरपश्चिमका यी दुई मन्त्रीले काठमाडौँ घुमेर राज्यको १९ लाख खर्च गरे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक वर्षमा संघीय राजधानी काठमाडौँ ओहोरोदोहोर गरे जस्तै मन्त्रीहरुले समेत उनलाई पछ्याएको पाइएको छ ।

Nisharg hospital

मुख्यमन्त्री शाहले विभिन्न कारण देखाउँदै एक वर्षमा २२ पटक काठमाडौँ आउजाउ गरेर साढे ८ लाख रुपैयाँ खर्च गरेको पाइएको थियो । शाहको क्याबिनेटका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले समेत उनलाई पछ्याएको पाइएको हो ।

सम्बन्धीत मन्त्रालयले उपलब्ध गराएको विवरणमा मन्त्रीद्धय मुख्यमन्त्री भन्दा केही कम पटक काठमाडौँ आउजाउ गरेको देखिएपनि खर्चको अनुपात भने उस्तै रहेको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले २७ माघ २०७९ मा पदभार ग्रहण गरेका थिए । २२ फागुन २०७९ मा पहिलोपटक काठमाडौँ गएका शाहीले वर्षभरीमा २१ पटक ओहोरदोहोर गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीले जस्तै एकै महिनामा तीन/तीन पटक काठमाडौँ गएको रेर्कड बनाएका मन्त्री शाहीले निजी सचिवालयका कर्मचारी र सुरक्षागार्ड समेत गरेर हवाई भाडा र भ्रमण भत्तामा १२ लाख ५२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

शाहीले मात्र हवाई भाडा वापत तीन लाख ३३ हजार र दैनिक भ्रमण भत्तामा दुई लाख ३४ हजार रुपैयाँ गरेर काठमार्डाैँ आउजाउमा पाँच लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।

यस्तै उनका स्वकीय सचिव विकास जंग शाहीले एक लाख ६१ हजार, धिरेन्द्र शाहीले ७६ हजार, निजी सुरक्षागार्ड शिवशंकर जोशीले तीन लाख ५० हजार र दिपक विष्टले ९६ हजार रुपैयाँ लिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले मन्त्री शाहीले जस्तै यो रकम काठमाडौँ ओहोरदोहोर गर्ने बेला खर्च गरेका हुन् । प्रायः मुख्यमन्त्री शाहसँगै काठमाडौँ जाने गरेका मन्त्री शाहीको खर्च भने उनको भन्दा बढि गरेको देखिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाको काठमाडौँ आउजाउ पनि कम छैन । प्रायः मुख्यमन्त्री शाह र मन्त्री शाहीसँगै संघीय राजधानी काठमाडौँ देखिने गरेका देउवा १५ पटक मात्र आउजाउ गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

२१ फागुन २०७९ देखि ८ पुस २०८० सम्म गरेर १५ पटक काठमाडौँ गएका देउवाले निजी सचिवालयका कर्मचारी र सुरक्षागार्डको समेत गरेर ६ लाख ७९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

एकै महिनामा दुई/दुई पटक काठमाडौँ गएका देउवाले हवाई भाडामा दुई लाख ६७ हजार र दैनिक भ्रमण भत्ता वापत एक लाख ४३ हजार गरेर तीन लाख ७१ ह्जार रुपैयाँ खर्च गरेका छन् ।

उनका निजी सुरक्षागार्डले दुई लाख ९९ हजार रुपैयाँ खर्च गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

तर मन्त्री १५ पटक काठमाडौँ गएको विवरण दिदा मन्त्रालयले निजी सुरक्षागार्ड १४ पटक मात्र गएको भनि देखाएको छ । सूचनाको हक प्रयोग गरि माग गरिएको सूचनामा कैफियत देखिनुले मन्त्रालयले वास्तविक सूचना लुकाएको तथ्य खुलेको छ ।

मन्त्रालयका सूचना अधिकारी सुरेशराज भट्टले भने विवरणमा कैफियत देखिएकोबारे त्यसो नभएको हुनसक्ने दाबी गरे । भट्टले फेरी पनि हेर्न सकिने भएकाले आशंका नगर्न समेत अनुरोध गरेका छन् ।

सम्बन्धीत मन्त्रालयले उपलब्ध गराएको विवरण हेर्दा मन्त्रीद्धय देउवा र शाहीले काठमाडौँ ओहोरदोहोरमा मात्र राज्यकोषको १९ लाख बढि रकम खर्चिएको देखिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...