
धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकारबाट नेकपा(एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ ।

संघमा एमालेसहितकाे नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हाे ।

समाजवादीकातर्फबाट आर्थिक मामिला मन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।

शाहीकाे उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेकाे मन्त्रालय आफैसँग राखेका छन् ।
चार जना प्रदेशसभा सदस्य रहेकाे एकीकृत समाजवादीले संसदीय दलकाे बैठकबाट आजै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।
माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएकाे समर्थन लिएकाे थियाे । समाजवादी पार्टीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ ।
अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यकाे मात्र समर्थन छ । जबकि सरकार जाेगाउन २७ जनाकाे समर्थन चाहिन्छ ।
नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएकाे छैन् । संसदीय दलका नेता घनश्याम चाैधरी पर्ख र हेरकाे अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारकाे विषयमा कुनै निर्णय नभएकाे बताउँछन् ।
