
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको आग्रहमा राति साढे ९ बजेसम्म कार्यालयमै कुरेर बसेका प्रदेश प्रमुखको कार्यालयका कर्मचारी घरतिर लागेका छन् ।

मुख्यमन्त्री शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई बिहीबार मन्त्रीमा नियुक्त गर्ने खबर पठाएपछि रोकिएका कर्मचारी रातिसम्म खबर नआएपछि कार्यालय बन्द गरेर घरतिर लागेका हुन् ।
‘प्रदेश प्रमुख ज्यूले अहिलेसम्म मुख्यमन्त्री ज्यूबाट कुनै खबर आएको छैन भनेपछि भर्खरै कार्यालय बन्द गरेर घरतिर जादैछौँ,’ एक कर्मचारीले भने, ‘अब भोलि बिहान कुरा गरौँला भन्नुभएको छ ।’सरकार विस्तार हुने खबरपछि मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयका कर्मचारी रातिसम्म कार्यालयमै रोकिएका थिए ।

वैद्यनाथ धाममा लागेको कोटिहोमको समापन समारोहमा सहभागी हुन अछाम गइरहेका प्रदेश प्रमुख देवराज जोशी पनि मुख्यमन्त्रीको आग्रहमा डडेल्धुरबाटै धनगढी फर्किसकेका छन् । मुख्यमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि उनी धनगढी फर्किएका थिए ।
तर पार्टीले आन्दोलन घोषणा गरेको भन्दै राप्रपा सरकारमा सहभागी हुन तयार नभएपछि बिहीबार नै सरकार विस्तार गर्ने मुख्यमन्त्रीको गृहकार्य पूरा नभएको स्रोतको भनाई छ । मुख्यमन्त्रीले बिष्टलाई फकाउन प्रयास जारी राखेका छन् ।
डडेल्धुरामा रहेका स्वतन्त्र सांसद जोशी समेत धनगढी पुगेका छन् । माओवादी र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह आफू नेतृत्वको सरकार जोगाउन सक्रिय छन् । दुवै जनालाई मन्त्री बनाउन सकेमा नागरिक उन्मुक्तिसहित उनको पक्षमा बहुमत पुग्ने देखिन्छ ।
यो पनि पढ्नुहोस् ।
सुदूरपश्चिममा राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्रीको अफर, कर्मचारी कार्यालयमै
