३ असोज, धनगढी । कञ्चनपुरमा मानव कंकालमा परिणत भएको अवस्थामा फेला परेका तीन शवको पहिचान नखुलेपछि प्रहरीले गाडेको छ ।
लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुई र पुनवार्स नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा शवको पहिचान गर्न नसकिएपछि आवश्यक प्रक्रिया पुगाएर सोही स्थानमा गाडिएको जानकारी दिए । ‘शवहरु सडेको अवस्थामा फेला परेका थिए ।
मेडिकल परीक्षण गर्न सकिने अवस्था समेत नभएपछि प्रक्रिया पुगाएर सोही ठाउँमा गाडेका छौँ,’ मल्लले भने, ‘स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाको रहोबरमा शव गाडिएको हो ।’
आइतबार साँझ शव भेटिएपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै मगाएर डीएनए परीक्षणका लागि नमूना संकलन गरेको थियो । त्रिभुवन बस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रहरीकाअनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएपनि थप पहिचान नखुलेको हो । शनिबार अविरल वर्षासँगै आएको बाढीले ती शव अन्यत्रैबाट बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।