धनगढी । धनगढीको हार्डवयरको क्षेत्रमा एकछत्र राज गर्दै आएका हरिओम हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक भारतीय नागरिक आशिष गुप्ताले चालु आर्थिक वर्षमा ३२ लाख बराबरको कर छली गरेको खुलेको छ ।

आन्तरिक राजश्व कार्यालय धनगढीले गरेको अनुसन्धानका क्रममा गुप्ताले ३२ लाख बराबरको कर छली गरेको पाइएको हो ।
राजश्व कार्यालयले गुप्ताले दुलारीदेवी भन्ने महिलाको नाममा फार्म दर्ता गरि सञ्चालन गरेको आरडेन इन्टरप्राइजेजले मूल्य अभिबृद्धि कर छली गरेको पाइएपछि ३२ लाख रुपैयाँ प्रारम्भिक कर निर्धारण गरेको जनाएको छ । १८ जेठमा गुप्तालाई पत्र लेख्दै राजश्व कार्यालयले निर्धारण गरिएको प्रारम्भिक कर बुझाउन निर्देशन दिएको छ ।
गुप्ताले बुधबार मात्र उक्त पत्र बुझेर लगेको आन्तरिक राजश्व कार्यालय स्रोतले जनाएको छ । अब गुप्ताले कर कार्यालयले निर्धारण गरेको प्रारम्भिक करमाथि चित्त नबुझेमा १५ दिनभित्र प्रमाणसहित निवेदन दिनुपर्नेछ । गुप्ताले प्रमाण पेश गर्न नसकेको अवस्थामा भने राजश्व कार्यालयले निर्धारण गरेको प्रारम्भिक कर बराबरको रकमा बुझाउनुपर्नेछ ।
कैलाली प्रहरीले गत १७ बैशाखमा धनगढीस्थित गुप्ताको गोदाममा छापा हान्दै ट्रकसहित ४० लाख बराबरको भन्सार छलीको सामान बरामद गर्दै उनलाई पक्राउ गरेको थियो । सोही दिन आन्तरिक राजश्व कार्यालयले समेत उनको गोदाममा छापा हानेको थियो । छापा हानेर बिल, बिजक नियन्त्रणमा लिएर अनुसन्धान गरिएकोमा आरडेन इन्टरप्राइजेजले ४४ लाख ३८ हजार बराबरको मौज्दात किताब भन्दा बढि स्टक राखेको र ३७ लाख ८८ हजार न्यून मौज्दात स्टक राखेको पाइएको राजश्व कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस ।
धनगढीमा भारतीय गुप्ताको रजगज : पूर्व प्रहरीका नाममा व्यवसाय दर्ता र अवैध कारोबार
गुप्ता नेपाली नागरिक नभएपनि भारतीय दुतावासमार्फत व्यवसाय दर्ता गरि धनगढीमा हार्डवयरको व्यापार गर्दै आएका छन् । पैँसा र पावरको बलमा उनले लामो समयदेखि धनगढीमा अवैध कारोबार गर्दै एकछत्र राज गरिरहेको अरु व्यापारी बताउँछन् । पैँसाको बलमा लामो समयदेखि गुप्ताले लाखौँको कर छली, भारतबाट चोरी तस्करी गर्दै आएको आरोप लाग्ने गरेको छ ।
कैलाली प्रहरीले गुप्ताले भारतबाट अवैध रुपमा ल्याएको सामान बरामद गरेपछि व्यवसायीलाई दुःख दिएको आरोप लगाएका गुप्ताले पटक–पटक कर छली गर्ने गरेको तथ्यांकले देखाउँछ । गत वर्ष मात्र आन्तरिक राजश्व कार्यालय धनगढीले उनीमाथि छानबिन गरि ११ लाख बढि कर छली गरेको पुष्टि गरेको थियो यद्यपि अहिले छली गरेको कर तिरिसकेका छन् ।
गुप्ता सञ्चालक रहेको हरिओम हार्डवयर एण्ड सप्लायर्सलाई राजश्व कार्यालयले गत वर्ष मात्र ११ लाख बढीको कर छली गरेको भेटिएपछि तिराएको थियो ।
