
धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका पाँच जना प्रदेश सभा सदस्यले मन्त्रीको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकलाई मन्त्रीमा नियुक्त गर्नेगरि नाम सिफारिस गरेका थिए ।
तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ती जनाउदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् । पत्रमा संसदीय दल र पार्टीमा छलफल नै नगरि आफूखुसी नाम सिफारिस गरेका कारण गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ भने मन्त्री नियुक्ति प्रक्रिया अविलम्ब रोक्न माग गरिएको छ ।

पत्रमा प्रदेश सभा सदस्य खगराज भट्ट, झपट साउद, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुवर पौडेलले हस्ताक्षर गरेका छन् । यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।
