धनगढी । २७ र २८ जेठमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सम्पन्न भएको श्रमाधान रोजगार मेलामा २६ सय बढि बेरोजगारले रोजगारी मागेका छन् ।
आयोजककाअनुसार विभिन्न रोजगारीका लागि दुई हजार ६ सय ६९ जनाले आवेदन पेश गरेका छन् । जबकी मेलामा दुई हजार ४ सय ६ पदका लागी मात्र आवेदन माग गरिएको थियो ।
मेला मूल आयोजक समितिले आवेदन दिने मध्ये रोजगारीका लागि ८५ जनाको नाम विभिन्न निकायलाई सिफारिस गरिएको जनाएको छ ।
‘तत्काललाई ८५ जनालाई रोजगारीका लागी सिफारिस गरेका छौँ,’ श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयका उप–सचिव बसन्त बोहराले भने ‘अरु प्रक्रियामा हुनुहुन्छ, उहाँहरुको दक्षता कुन क्षेत्रमा छ भनेर अध्ययन भइरहेको छ । दक्षताका आधारमा रोजगारी पाउनुहुन्छ । ’
मेलामा ६७ जनाले तालिमका लागी समेत निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको रोजगार मेला धनगढीको ओम प्यालेसमा सञ्चालन भएको थियो । मेलामा विभिन्न ३८ वटा स्टल राखिएको थियो ।