बैतडी । बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका—४ चिल्लेपानीका ६२ वर्षीय प्रतापसिंह ऐरीको कुटपिटबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो ।
प्रतापले मंगलबार सुना र बुहारी २२ वर्षीया भावना ऐरीमाथि कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
घरायसी विवाद कारण प्रतापले श्रीमतिमाथि कुटपिट गरेका बताइएको छ । कुटपिटका क्रममा छुट्याउन गएकी बुहारीमाथि पनि उनले कुटपिट गरेका हुन् ।
भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए । प्रतापलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।