डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाका विपन्न वर्गका ३३ जनालाई बाख्रा वितरण गरिएको छ ।
वडा नम्बर ३ कानाचौरका १७ जनालाई केही दिनअघि र वडा नम्बर २ केदार अखडाका १६ जनालाई बुधबार बाख्रा वितरण गरिएको हो ।
युएमएन डोटी कलस्टर र सिड नेपाल डोटीको साझेदारीमा सञ्चालित ‘बालबालिका उत्थानशील विकास परियोजना’ अन्तरगत विभिन्न समूहका न्यून आय भएका सदस्यहरूलाई बाख्रा वितरण गरिएको सिड नेपालका सामुदायिक विकास सहजकर्ता यम बमले बताए ।
उनका अनुसार विभिन्न गाउँ तथा टोलमा गठन भएका समूहहरूले छनोट गरेर पठाएका आर्थिक अवस्था कमजोर भएका लक्षित सदस्यहरूलाई प्रति व्यक्ति चार ओटा बाख्राका दरले १३२ ओटा बाख्रा वितरण गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ धिर्कामाण्डौ र वडा नम्बर ६ गगुडामा पनि बाख्रा वितरण गरिने सिड नेपालले जनाएको छ ।