धनगढी । बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय ट्रक चालक बिरभान बिष्टको हत्या गरेको अभियोगमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । फरार रहेका पाटन नगरपालिका–६ का पुन्टु भनिने २६ बर्षीय आशिष पहरीलाई बुधबार पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या पाँच पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले घटनापछि फरार पहरीलाई पाटन नगरपालिका–५ को अर्तोला नजिकैको जंगलबाट पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार यो घटनामा यसअघि नातामा मृतककी बुहारी पर्ने पाटन नगरपालिका–६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, सोही ठाउँ बस्ने ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन नगरपालिका–१ का १९ बर्षीय राजेन्द्र भट्टराई र १७ बर्षीय किशोर भट्टराईलाई यसअघि नै पक्राउ गरिएको थियो ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १ असारको रातिदेपख हराएका बिष्टको हत्या गरेर फालेको अवस्था सोमबार दिउँसो पाटन नगरपालिका–६ को घाङल खोलामा शव फेला परेको थियो ।
मृतक बिष्ट र पक्राउ परेकी मुख्य अभियुक्त भागरथी बिष्टबीच विगत केही वर्षदेखि अनैतिक सम्बन्ध रहेको थियो । घटना भएको दिन पक्राउ परेका मध्येका केही व्यक्ति भागरथीको घरभित्र उनीसँगै बसिरहेको अवस्थामा बिष्ट पुगेपछि विवाद भएर हत्याको स्थिती सिर्जना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
