
डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात गर्नुपर्ने बताएका छन् ।

मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले सिलगढीमा आयोजना गरेको छुवाछुत तथा जातीय विभेद र मानव बेचबिखन अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रहरी नायब महानिरीक्षक केसीले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका केसीले जातीय विभेद र छुवाछुत अन्त्यका लागि प्रत्येक नागरिकले आफ्नो दृष्टिकोणमा परिवर्तन गरी आफूबाट सुरुवात गर्नुपर्ने बताए। वर्तमान समयमा मानव बेचबिखन छिमेकी देश भारतमा नभई भिसा बनाएर बाहिरी देशहरूमा हुने गरेकोले यस विषयमा आम नागरिकलाई जनचेतना जगाउन आवश्यक रहेको समेत बताए ।

मानव बेचबिखनका साथै सुदूरपश्चिममा लागु औषधको कारोबार र सेवन दर दिनानुदिन समस्याको रूपमा देखा पर्ने गरेकोले यस क्षेत्रमा पनि आम नागरिक सचेत हुन आवश्यक रहेको बताए । जातीय छुवाछुत, मानव बेचबिखन, लागु औषध जस्ता सवालहरूमा तिनै तहका सरकार सचेत हुन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस विषयमा विशेष गरी स्थानीय तहले समयमै ध्यान दिई जनचेतनामूलक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिई अगाडी बढ्न आवश्यक रहेको बताए ।
सामाजिक विकृति अन्त्य गरी समाज परिवर्तन गर्न हरेक व्यक्तिको उत्तिकै जिम्मेवारी रहेको कार्यक्रमका सभाध्यक्ष एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले लागु औषध दुर्व्यसनीले युवा पुस्तालाई विकृत बनाइरहेकोले यस विषयमा आम नागरिकलाई जनचेतना जगाउन आवश्यक रहेको प्रहरी प्रशासनले यस्ता कार्यलाई विगतका दिनहरूमा सञ्चालन गर्दै आइरहेको समेत बताए ।
