
धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ ।

आइतबार नगर उपप्रमुख शारदा रोकायाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । आर्थिक वर्ष २०८१÷८२ का लागि कुल एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट गोदावरी नगरपालिकाले सार्वजनिक गरेको हो ।

संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १९ करोड १२ लाख, राजश्व बाँडफाँडमा १८ करोड ७ लाख, समपुरक अनुदानमा एक करोड ४० लाख, विशेष अनुदानमा चार करोड ३० लाख र सशर्त अनुदानमा ४४ करोड एक लाख ७९ हजार रहने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा एक करोड ८३ लाख ५६ हजार, राजश्व बाँडफाँडमा ६९ लाख ७७ हजार, समपुरक अनुदानमा एक करोड पाँच लाख ७० हजार र विशेष अनुदानमा ३५ लाख रहने गरेर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले राजश्व बाँडफाँड अन्र्तगत नै घरजग्गा रजिष्ट्रेसनमा ६ करोड ५० लाख, आन्तरिक स्रोत १३ करोड ७२ लाख ४३ हजार, विज्ञापन कर ६ लाख ४० हजार, वन रोयल्टी १० लाख र बैंक मौज्दात ११ करोड रहने अनुमान गरेको छ ।
चालु आर्थिक वर्षका लागि एक अर्ब २२ करोड ९४ लाख ७० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको थियो। चालु आर्थिक वर्षभन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ लाख ५ हजार रुपैया कम बजेट ल्याएको छ ।
