
धनगढी । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आफूले पाउने पारिश्रमिक रकम ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि स्टेशनरी उपलब्ध गराउने भएका छन् ।

मेयर हमालले आगामी आर्थिक वर्ष २०८१÷८२ को तलब–सुविधाबाट पाउने करिब १० लाख रुपैयाँबाट कापी, कलम खरिद गरेर ग्रामीण भेगका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई उपलब्ध गराउने भएका हुन् । मेयर हमालले सुरुदेखि नै आफ्नो पारिश्रमिकसहितका सबै सुविधा रकम विद्यालय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
उनले आर्थिक वर्ष २०७९/८० मा पनि करिब १० लाख रुपैयाँबाट कक्षा ८ मा सून्य नतिजा ल्याएका धनगढीका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएका थिए । आर्थिक अभावमा कतिपय विद्यालयका विद्यार्थीहरूले कापी, कलमलायतका शैक्षिक सामग्री किन्न नसक्ने, बिचमै विद्यालय छोड्ने तथा नियमित विद्यालय नजाने समस्या रहेको छ ।
मेयर हमालले आर्थिक अभाव भएका बालबालिकाको पठनपाठनमा समस्या नहोस् भनेर आफूले पाउने पारिश्रमिकबाट शैक्षिक सत्रको सुरूवातदेखि नै विद्यालयमा कापी, कलम वितरणको अभियान सुरु गरेको बताए । मेयर हमालले विद्यार्थीहरूको सिकाइमा सुधारको लागि सहयोग गर्न विभिन्न संघसंस्था तथा ब्यक्तिहरूलाई अभियानमा संलग्न हुन आह्वान गरेका छन् ।
उनले भने– विद्यालय र विद्यार्थीहरूको संख्या धेरै छ। कापीकलम किन्न समस्या भएका बालबालिकाको शिक्षामा सुधार ल्याउने यो अभियान योगदान दिन हार्दिक अपिल गर्दछु । मेयर हमालले उपलब्ध गराएको कापीमा हाम्रो धनगढी, सफा धनगढी तथा फोहोरमैला ब्यवस्थापन, जलवायु परिवर्तन, वृक्षारोपण गरी पर्यावरण बचाउने, दुव्र्यसनीबाट बच्ने उपाय, सरसफाइ सम्बन्धी सन्देशलगायतका चेतनामुलक सन्देश समावेश गरिएको छ ।
