
धनगढी । कञ्चनपुरमा नाबालिकामाथि भएको जबरजस्तीकरणी मुद्दा मिलाउन आर्थिक चलखेल गर्न खोजेको आरोप लागेकी मन्जु केसीको जागिर गएको छ ।

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा रहेको घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि आपतकालीन सञ्चालन केन्द्रकी संयोजक केसीको कर्तुत सार्वजनिक भएपछि जागिर गएको हो ।
केसीले जबरजस्तीकरणीमा परेकी कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी १५ वर्षीया बालिकाको बयान परिवर्तन गराएर अभियुक्तलाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

उनले २९ असारको मिती राखेर मंगलबार(हिजो) आपतकालीन केन्द्र सञ्चालन गरेको शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई राजीनामा बुझाएको पाइएको छ ।
सहकारीकी अध्यक्ष बसन्ती सिंहले पनि केसीले आफूबाट गल्ती भएको भन्दै राजीनामा दिएको बताइन् । उक्त राजीनामा मंगलबार नै आफूले स्वीकृत गरेको सिंहले जानकारी दिइन् । केसी सहकारी संस्थामा भने साधारण सदस्य मात्रै रहेको बुझिएको छ ।
गत वर्ष गाउँकै ३२ वर्षीय युवकबाट बलात्कारमा परेकी १५ वर्षीया बालिका घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि आपतकालीन सञ्चालन केन्द्रमा आश्रय लिएर बसिरहेकी थिइन् । तर केन्द्रकी संयोजक केसी र महिला अधिकारकर्मी माया नेगीले अभियुक्तलाई जोगाउने उद्देश्यले बालिकालाई पाँच लाख रुपैयाँ प्रलोभन देखाएको आरोप लागेको छ ।
उनीहरुले अभियुक्तका भिनाजु र श्रीमती समेतलाई सेभ हाउसमै लिएर भेटाउने, पैँसाको प्रलोभन देखाउने, अभियुक्तसँग कारागारमा फोनमार्फत कुराकानी गराउने जस्ता काम गरेको स्वयंम बालिकाले बताएकी छन् । अहिले बाल हेल्प लाइन धनगढीमा आश्रय लिइरहेकी बालिकालाई फकाएर मुद्दा प्रभावित गर्न खोजेको विषय प्रेसपत्र(डट) कमले बाहिर ल्याएको थियो ।
यो विषयमा स्थानीय प्रशासन र मानव अधिकारवादी संघसंस्थाहरुले समेत आवश्यक छानविन गर्ने बताएका छन् । बालिकाका आफन्तले बलात्कार जस्तो घटनामा गैरकानुनी रुपले मुद्दा कमजोर पारेर पीडकलाई बचाउने भूमिका खेल्ने अधिकारकर्मीद्धय मन्जु केसी र माया नेगीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
कञ्चनपुरमा बालिका बलात्कार गर्नेलाई बचाउन ५ लाखको प्रलोभन, अधिकारकर्मीका कर्तुत पर्दाफास
