
बैतडी । बैतडीको पाटन नगरपालिका–३ टाकुले घर भएका स्वर्गीय जनक प्रशाद अवस्थीको परिवारलाई सहयोगीहरुबाट ९ लाख ३६ हजार रुपैया सहयोग जुटेको छ ।

व्याक्तिगत र संस्थागतगरी ९ लाख ३६ हजार ४२६ रुपैया सहयोग जुटेको हो ।
अध्ययनको लागि जापानमा रहेका अवस्थीको गत साताको मंगलबार नुहाउने क्रममा डुबेर निधन भएको थियो ।
निधन भएका अवस्थीको शव अन्त्यष्टिको लागि समेत आर्थिक अभाव रहेको थियो । भएभरको ऋण खोजेर जापान पठाएका छोराको त्यहा पुगेको ३ महिनामै निधन भएपछि परिवार विक्षिप्त बनेको थियो ।
त्यसपछि आफन्त लगायत सामाजसेवीको तर्फबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । हालसम्म ४६९ जनाबाट व्याक्तिगतरुपमा ८ लाख ९८ हजार ४५ रुपैया सहयोग जुटेको छ भने पाँचवटाबाट संस्थागत सहयोग जुटेको हो ।
सहयोग अभियान सञ्चालन गरेकाहरुले सहयोगीप्रति सबैमा आभार प्रकट गरेका छन् ।
सहयोग अभियाका प्रतिनिधि प्रेम सिंह भाटले यस पिडादायक अवस्थामा रहदा सहयोग प्रदान गर्ने सबैमा गर्नुहुने धन्यवाद ज्ञापन गरे । यसले अवस्थीको परिवारमा लागेको घाउमा मलम लागेको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका अभियान्ता भाटले बताए ।
यस सहयोगले नेपालीहरुमा सामाजिक एकता, सद्भावको भावना अझै कायमै रहेको महसुस भएको आर्थिक सहयोग अभियानको थालनी गर्ने समुहका प्रतिनिधि एवं स्वर्गीय जनकका आफन्त नरेन्द्र भट्टले बताए ।
सामाजमा आफ्ठ्यारो परेकोबेला आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न प्रेरित गरेको पनि उनले बताए ।
‘यो घटनाले परिवारमा अप्रत्याशीत ठूलो संकट आइलाग्यो, जनकको वियोगको संकटसँगै आर्थिक संकट पनि आएको थियो, आफन्त भट्टले भने, यो पिडामा मल्हम लगाउन सकिन्छकी भनेर सबैलाई गुहार गरेका थियौँ, सबैबाट अपेक्षाभन्दा बढी सहयोग भयो, यस घटनामा सबैले सहानुभुती प्रकट गर्नु भयो, हामि सबैप्रति आभारी छौँ’ भट्टले भने । यस सहयोगबाट परिवारको आर्थिक संकट टर्ने अपेक्षा गरेको उनले बताए ।
अभियाननमा सरिक जनकका आफन्त समेत रहेका युवा दीपक पन्तले कुनै परिवार समस्यामा रहदा हात फैलाएर सबैले सहयोग गरेको भन्दै सहयोगीहरुमा धन्यवाद ज्ञापन गरे । ‘जनकको वियोगमा सबैले सहानुभुती प्रकट गर्नुभयो, यो पिडालाई बाढेर हलुको बनाउने प्रयास गर्दिनुभयो, सबैप्रति आभार प्रकट गर्दछौँ,’ पन्तले भने ।
जनकका परिवारले बैशाख ४ गते करिब १८ लाख ऋण निकालेर जनकलाई जापान पठाएका थिए । त्यसको ३ महिना नपुग्दै उनको निधन भएको हो ।
