धनगढी । कैलालीमा सम्बन्धविच्छेद गरेका श्रीमानले जन्डिसका कारण ज्यान गुमाएकी छोरीको शव अस्वीकार गरेका छन् ।
बैतडीको डिलासैनी गाउँपालिका–२ स्थायी घर भएका लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेका हुन् ।
घरडीले नबुझ्दा बालिकाको शव दुई दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ भने उनकी आमा घोडाघोडी नगरपालिका–८ बस्ने हजारी बिष्ट भौँतारिएकी छन् ।
२०७७ सालमा श्रीमती हजारीसँग सम्बन्धविच्छद गरेका घरडीले मृतक छोरीको नामको अंश दिएपछि मात्र शव बुझ्ने अडान लिएका छन् तर बिष्टले छोरीको पालनपोषण आफैले गरेको भन्दै अंश नदिने बताएकी छन् ।
मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । २० साउनमा अकस्मात बिरामी भएकी छोरीलाई हजारीले घोडाघोडी अस्पतालमा भर्ना गरेकी थिइन् । घोडाघोडी अस्पतालले धनगढीको नोभा हस्पिटल पठाएको थियो ।
नोभा हस्पिटलले जन्डिसका कारण स्वास्थ्य अवस्था जटिल भएको भन्दै प्राथमिक उपचार गरेर नेपालगञ्ज रेफर गरेको थियो । नेपालगञ्ज लैजाने क्रममा छोरीको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको बिष्टले बताइन् ।
छोरीको मृत्यु हुनु अघि नै पूर्व श्रीमान घरडीलाई खबर पठाएको बताउँदै बिष्टले मृत्यु भइसकेपछि मृतक करिष्माको नाममा अंश आफूलाई दिएपछि मात्र शव बुझ्ने बताइरहेको सुनाइन् ।
घरडीले भने आफू धेरै पीडित भएको दाबी गर्दै भेटेर सबै कुरा बताउने प्रतिक्रिया दिएका छन् । पूर्व श्रीमानले शव बुझ्न नमानेपछि अहिले बिष्टले जिल्ला प्रहरी कार्यालयमा शव परीक्षण गरेर दाहसंस्कारको लागि आफ्नो जिम्मा लगाइदिन भन्दै जाहेरी दिएकी छन् ।
श्रीमानसँग सम्बन्धविच्छेद हुनुभन्दा अगाडी गोदावरी नगरपालिका–४ को बुढितोलामा बस्दै आएकी बिष्ट अहिले दुई छोरीसहित माइतीघर घोडाघोडीमा बसिरहेकी छन् । छोरालाई भने २०७७ सालमै घरडीले आफैसँग लगेका थिए ।