रुपन्देही । साउनको अन्तिम सोमबारको दिन आमालाई बोलबम मन्दिर लगेर गएका बुटवल १३ बेलबासका अंकृत पाठक घरमा फर्कन पाएनन् ।
सोमबार बिहान भएको सो घटनामा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको र दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।
यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छन्। साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु गम्भीर घाइते भएका छन् ।घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।
आमालाई लिएर बिहानै उनी बोलबम मन्दिर जाँदै गरेको अवस्थामा घटना भएको स्थानीय डिआर घिमिरेले बताए ।राजमार्ग क्षेत्रमा बुटवलको जीतगढीदेखि बेलबाससम्मको क्षेत्रमा बढी दुर्घटना हुने गरेको र सडक छेउमा व्यवसाय गर्नेहरूलाई व्यवस्थित गरेर राजमार्ग क्षेत्रको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।