काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आयोजना, आर्थिक एवं विकास सहायता लगायतका विषयमा छलफल भएको थियो ।वार्ताका क्रममा मन्त्री राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत भारतसँग कुरा उठाएकी छन् ।
भेटका क्रममा राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएको पराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषय पनि उठाएकी थिइन् ।
शिष्टाचार भेटका क्रममा व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो ।