
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।
उनकाअनुसार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरुलाई ह्वीप लगाइएको हो । २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दिउँसो २ बजे बैठक बोलाएको छ । प्रमुख सचेतक बिक्रम धामीले बैठक प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए ।
विश्वासको मतबारे निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक जारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न दिउँसो २ बजे बैठक बोलाएको छ ।
