३२ वर्षदेखिको बाँझो जग्गामा व्यवसायिक तरकारी खेतीमा जमेका धनगढीका गजेन्द्र

धनगढी । कैलालीका कृषि व्यवसायी गजेन्द्र शाहले डोटीको जोरायल गाउँपालिका–२ मल्लो रिठामा तीन वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । धनगढीमा कृषि औजार पसल र गोदावरीमा कृषि व्यवसाय गरिरहेका शाहले २०७८ सालदेखि डोटीमा पनि तरकारी खेती गरेका हुन् ।

Nisharg hospital

३२ वर्षसम्म बाँझो रहेको करिब १५० रोपनी जग्गा भाडामा लिएर उनले तरकारी खेती गर्दा धेरै मानिस दंग परेका छन् । ‘तीन वर्षअघि हामी यहाँ आउँदा यो पूरै डाँडोमा डरलाग्दो झाडी थियो । मान्छेले एक्लै आउनसक्ने अवस्था नै थिएन’, शाहले सुनाए, ‘धनगढीबाट १५र२० जना कामदार ल्याएर त्यो झाडी फाँडेर अस्थायी संरचना बनाएर व्यवसाय सुरु गरेका थियौं ।’

जग्गाधनी देवराज पाठक परिवारसहित कैलाली बसाइँ सरेपछि रिठामा रहेको १५० रोपनी जग्गा ३२ वर्षदेखि बाँझो र घरलगायतका सरचना त्यसै छाडिएको थियो । यो थाहा पाएपछि शाहले भाडामा लिएर बेमौसमी तरकारी खेती गर्ने निधो गरे । वार्षिक प्रतिरोपनी तीन हजार रुपैयाँका दरले भाडा तिर्नेगरी पाठक परिवारको सबै बाँझो जग्गा भाडामा लिएर बेमौसमी तरकारी खेती अघि बढाएका थिए ।

तरकारी खेतीका लागि आवश्यक पर्ने पोलिहाउस, टनेल, थोपा सिँचाइ लगायतका संरचनामा ३५ लाख रुपैयाँ लगानी गरेका शाहले तीन वर्षदेखि राम्रो उत्पादन पाइरहेका छन् ।

‘बर्खामा तराईमा टमाटर लगायतका तरकारी उत्पादन नहुने भएकाले पहाडमा खेती गर्दा उत्पादनले राम्रो बजार पाउँछ भन्ने लागेर व्यवसाय सुरु गरेको थिएँ’, शाहले भने, ‘प्लाष्टिकका टनेलमा टमाटर, खुर्सानी, मुला उत्पादन गरेर हामीले धनगढी, महेन्द्रनगरसम्म पठाइरहेका छौं ।’

पहिलो वर्ष १६ लाख रुपैयाँको तरकारी बिक्री गरेका शाहले दोस्रो वर्ष २६ लाखको तरकारी बिक्री गरेको सुनाए । यो वर्ष उत्पादित तरकारी बजारमा पठाउन बाँकी छ । शाहले यो वर्ष ३५ देखि ४० लाख रुपैयाँको तरकारी बिक्री गर्ने लक्ष्य राखेका छन् ।

भैंसीपालन र होमस्टेको योजना

मानिसहरु तराईमा बसाइँसराइ गर्ने क्रम बढेपछि पहाडमा वर्षौंदेखि ठूलो मात्रामा जग्गा बाँझै छन् । बाँझो जग्गामा पनि सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका शाह यस्ता जग्गामा व्यवसायिक तरकारी वा अन्य खेती गर्न राज्यले किसानलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् ।

Samajik mantralaye

‘मान्छेहरु तराईं बसाइँ सर्ने चलन बढेपछि पहाडमा जग्गा बाँझो रहने समस्या पनि उत्तिकै भइरहेको छ । उर्बर जमिन बाँझो छाडेर प्रकृतिले दिएको अनुपम उपहार गुमाइरहेका छौं’, शाहले भने, ‘राज्यले बाँझो जग्गामा व्यवसायिक खेती गर्न प्रोत्साहन गर्नुपर्छ ।’

तरकारी खेतीसँगै बाख्रापालन गरेका शाह अब भैंसीपालन र कृषि होमस्टे सुरु गर्ने योजनामा छन् । बुडरस्थित झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर कृषि होमस्टे सञ्चालन गर्ने योजना रहेको शाहले सुनाए ।

शाहको तरकारी फार्ममा अहिले तीन जनाले नियमित र ३० जनाले आंशिक रुपमा काम गरिरहेका छन् । कृषि होमस्टे र भैंसीपालन सुरु गरेपछि रोजगारी अझै बढ्ने उनको भनाइ छ ।

शाहले कैलालीकै गोदावरी नगरपालिका–३ को मालाखेतीमा तीन बिघा जग्गा भाडामा लिएर २०७४ सालदेखि तरकारी खेती, कुखुरापालन र माछापालन गर्दै आएका छन् ।

कृषि विज्ञान विषयमा प्रमाणपत्र तह र पशु स्वास्थ्य प्राविधिकको कोर्स पूरा गरेका उनले कृषि क्षेत्रमा काम गर्ने सिप्रेड नामक गैरसरकारी संस्थामा १३ वर्ष काम गरे । त्यसपछि तीन वर्ष जति सिँचाइ विभागको साना सिँचाइ सहयोग कार्यक्रममा पनि काम गरे ।

कृषि र पशु विषयको अध्ययन र जागिरको अनुभवपछि २०७२ सालमा कैलालीकै सहजपुरमा व्यवसायिक तरकारी खेती सुरु गरेका थिए ।

२०७४ सालमा साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदान र आफ्नो पनि लगानी गरी एक करोड ७ लाख रुपैयाँमा कैलालीकै गोदारीमा तरकारी खेती, कुखुरापालन र माछापालन अघि बढाएका शाहले घाटा सहनुपरेन ।

तराइको उत्पादनले राम्रो प्रतिफल पाइरहेका शाहलाई २०७८ सालको कोरोना महामारीपछि पहाडमा समेत व्यवसायलाई विस्तार गर्ने इच्छा जाग्यो । सोहीअनुसार उनी खाली जग्गाको खोजीमा लागे । त्यही क्रममा उनी डोटीको जोरायलमा रहेको मल्लो रिठ्ठा पुगेका थिए ।

रिठामा नजिकमा खानेपानीका मुहान नभएको र भएको मुहानमा समेत विवाद भएपछि शाहले सोचेजस्तै सिँचाइ सुविधा पाउन सकेनन् । तर उनले थोपा सिँचाइ प्रणाली जडान गरेका छन् ।

शाहले वर्षाको पानी संकलन गर्न एउटा पोखरी निर्माण गरेका छन् । वर्षातको समयमा परेको पानी उनले पोखरीमा संकलन गर्छन् र थोपा सिँचाइ प्रणालीबाट सिँचाइ गर्छन् । भविष्यमा खोलाको पानी तानेर सिँचाइ गर्नुपर्ने उनले बताए । अनलाइनखबरबाट

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...