
सुर्खेत । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् ।

उनलाई सरकारी मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार ठक्करबाट उनको टाउको र आँखामा गहिरो चोट लागेको थियो ।

