
धनगढी । गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले स–साना नदीहरूमा जलसतह केही बढ्ने छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
