धनगढी । कैलालीको धनगढीमा प्रहरीको पोस्ट नजिकै ट्याङ्करका चालक र सह–चालकमाथि सामूहिक आक्रमण भएको छ।
धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा रहेको ट्याङ्करको पार्किङ स्थलमा शनिवार राति ११ बजे चालक हरि देउवा र सह–चालक अनिल देउवामाथि सामूहिक आक्रमण भएको हो। मिलनचोकमा नै त्रिनगर प्रहरी चौकी मातहतको प्रहरी पोस्ट रहेको छ।
तर, रातिको समयमा इन्धन ढुवानी गर्ने ट्याङ्कर भित्र सुतिरहेको अवस्थामा हातहतियारसहितका ३० भन्दा बढी युवाहरूले उनीहरूमाथि आक्रमण गरेका हुन्। ट्याङ्कर व्यवसायी संघका अध्यक्ष ललित चन्दले चालक हरि देउवा र सह–चालक अनिल देउवाको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको बताएका छन्।
उनीहरुको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार हुँदैछ। ट्याङ्कर व्यवसायीहरूले सुरक्षाको माग र घटनामा सङ्लग्नहरूलाई कारबाहीको माग गर्दै कैलाली प्रहरीमा जाने तयारी गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले एक जनालाई पक्राउ गरिएको बताए। तर, उनको परिचय सार्वजनिक गरिएको छैन।