धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या घटनामा दुई वर्षदेखि फैसला सुनाउन नसकेको जिल्ला अदालत कैलालीले फेरी साक्षी बुझ्ने आदेश जारी गरेको छ ।

आइतबार तोकिएको पेशी हेर्दाहेर्दैमा राखिएकोमा सोमबार भने जिल्ला अदालतले उक्त मुद्दामा साक्षी बुझ्ने आदेश दिएको हो । जिल्ला न्यायाधिश हरिसिंह धामीको एकल इजलाशले बडुवालको हत्या सम्बन्धी मुद्दामा साक्षी बुझ्ने आदेश दिएको अदालतका शाखा अधिकृत कमल घलेले बताए ।
उनकाअनुसार मौकामा कागज गर्ने व्यक्ति र मृतकको स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरसँग केही कुरा बुझ्नुपर्ने भन्दै साक्षीको आदेश भएको छ । जिल्ला अदालतले यो मुद्दामा साक्षी बुझ्ने आदेश गरेको पाँचौँ पटक हो ।

बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।
पटक–पटकको सुनवाइपछि २६ चैत २०८० मा जिल्ला अदालतका तत्कालीन न्यायाधिश विष्णुप्रसाद अवस्थीको इजलासले प्रतिवादीको बयान लिने र वादी पक्षको बकपत्र गराउने काम सकिसकेको छ । त्यसपछि अन्तिम सुनवाइका लागि जिल्ला अदालतले पेशी तोकेपनि कहिले जिल्ला सरकारी वकिलको कार्यालय र कहिले प्रतिवादीका कानुन व्यवसायीबाट पेशी सार्दै आएको छ ।
६ महिनाको अवधिमा सरकारी वकिलको कार्यालयकाबाट तीन र प्रतिवादीका कानुन व्यवसायीको तर्फबाट चारपटक पेशी स्थगित गरेको पाइएको छ । आइतबारको पेशीमा मुद्दाको अन्तिम फैसला हुने अपेक्षा गरिएको थियो तर मुद्दा हेर्दाहेर्दैमा राखेर अदालतले सोमबार साक्षी बुझ्ने आदेश गरेको छ ।
सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीले पटक–पटक मुद्दाको पेशी सारेपछि मुद्दालाई कमजोर पार्ने चलखेल भइरहेको आशंका पीडित पक्षले गरेको छ ।
बडुवालको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उनीहरुमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा छन् भने अरु फरार छन् ।
