धनगढी । सुदूरपश्चिम प्रदेशमा तलब नपाएपछि विद्युत प्राधिकरणमा सेवा करारमा कार्यरत कर्मचारीको तिहार खल्लो भएको छ ।
विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले असोज महिनाको तलब नदिएपछि कर्मचारीहरुको तिहार खल्लो हुने भएको छ ।
प्राधिरकणको डडेल्धुरा वितरण केन्द्रमा कार्यरत एक कर्मचारीले प्रादेशिक कार्यालयले तलब नदिएपछि तिहार मनाउन समस्या भएको बताए ।
उनकाअनुसार तलब नै नपाइएपछि सेवा करारमा कार्यरत प्रदेशभरका एक सय भन्दा बढि कर्मचारको तिहार बिग्रिएको छ ।
विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाले सेवा करारमा कार्यरत सबै कर्मचारीको तलब ठेकेदारलाई निकासा दिइसकेको जनाएको छ तर ठेकेदारले कर्मचारीलाई नदिएको हुनसक्ने बताएको छ ।
प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले ठेकेदारले ढिलो गरि विल पेश गरेको भएपनि सेवा करारका कर्मचारीले पाउनुपर्ने सबै तलब वापतको रकम बराबरको चेक दिइसकेको बताए ।
तर ठेकेदारले कर्मचारीलाई तलब दिए/नदिएको कुरा जानकारीमा नरहेको उनी बताउँछन् । यो विषयमा बुझ्न ठेकेदार भनिएका प्रमोद आचार्यले फोन उठाएका छैनन् ।