धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको हत्यामा संलग्न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको छ ।
बाख्रा चोरी गरेको निहुँमा कुटपिट गरेर बिकको हत्या गरिएको भन्दै प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगंगा–११ कै ३६ वर्षीय देवराज सापकोटा, ३५ वर्षीय बिस्ना बिक र १८ वर्षीय राहुल बिक(नाम परिवर्तन) रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।
भुलमाथि कुटपिट गरि हत्या गरेको आरोपमा यसअघि सोमबार नै प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति स्थानीयले कुटपिट गरेका थिए ।
भुलको सोमबार धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारले ९ जनाको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य समेत हुन् ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ, पत्रकार महासंघ कैलाली लगायतका संघसंगठनले उनको हत्या घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।