काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ ।
जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।
गत असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएपछि १५औं अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।
विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न विशेष अधिवेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए । ‘विशेष अधिवेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ’, उनले भने ।