धनगढी ।सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा शुक्रबार धनगढीमा सरोकारवालाहरुबिच छलफल भएको छ ।
प्रतिबद्ध तीन परियोजनाको शुभारम्भ बैठकको अवसरमा प्रदेशको विपद् जोखिम न्यूनीकरण, पुर्वतयारी तथा प्रतिकार्यमा नीतिगत तहबाटै काम गुर्नपर्ने छलफल भएको हो ।
बैठकमा सुदूरपश्चिम बहुप्रकोपको जोखिममा रहेको भन्दै सरोकारवालाहरुले प्रदेश सरकारले १२ महिना तयारी अवस्थामा बस्नुपर्ने धारणा राखेका थिए । भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, शित लहर जस्ता प्राकृतिक विपद्का कारण जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी प्रदेश सरकारले पूर्व तयारी तथा प्रतिकार्यका काम गर्नुपर्ने पिपुल इन निड(पिन) का परियोजना प्रबन्धक शालिकराम घिमिरेले बताए ।
यूरोपियन यूनियनको सहयोगमा पिपुल ईन निड, सेभ द चिल्ड्रेन र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले प्रतिवद्द तेस्रो कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रम वाग्मती, लुम्बिनी, कर्णाली र सुदुर पश्चिमको १० स्थानीय तहमा कार्यान्वयन हुनेछ । प्रदेश तहमा पनि नीति सवलीकरण, जनशक्ति व्यवस्थापन आदि कार्यमा सहकार्य हुनेछ ।
प्रकोप विपद् जोखिम न्यूनीकरणका लागिरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन भौगर्भिक अध्ययन, सामाजिक सुरक्षा प्रणाली निर्माण र समुदाय र स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । लाई प्राथमिकतामा राख्नुपर्ने सुझाव थियो ।
यस्तै जोखिममा रहेका बस्तीहरूको वर्गीकरण गरी पहिरो न्यूनीकरण र पुनर्निर्माणको कार्यलाई सहज बनाउने प्रदेश सरकारले संघिय सरकार र स्थानीय सरकारसंग पुलको रुपमा काम गर्नुपर्ने गैर सरकारी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनालले बताए ।
चालु आर्थिक बर्षमा सुदूरपश्चिममा विपदका घटनाबाट ४० जनाको मृत्यु, १० करोड बढीको क्षती भएको तथ्याङ्क रहेको छ । विपदका घटनामा परेर सबैभन्दा बढी आगलागीबाट ११ जनाको मृत्यु भएको छ । त्यस्तै सर्पदंश र चट्याङका कारण ७/७ जना, हावाहुरी र बाढीका कारण ४/४ जना, जंगली जनावरका कारण ३ जना, पहिरोका कारण २ र भुकम्प, लेक लागेर १ ÷१ जनाको मृत्यु भएको छ ।
उनका अनुसार सो अवधिमा ५७८ वटा विपदका घटना भएका छन । ती घटनामा परेर १८९ जना घाइते भएका छन । जसमा सबैभन्दा बढी सर्पदंशका कारण ५६ घाइते जना भएका छन । त्यस्तै बाढीका कारण ४७ जना, आगलागी र भुकम्पका कारण २९/२९ जना, चट्याङका कारण ८ जना, पहिरोका कारण ६, हावाहुरी र लेक लागेर ४/४ जना, जंगलमा आगलागीका कारण ३, जनावरको आक्रमणका कारण १ र अन्य कारणले २ जना घाइते भएका छन ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका प्रमुख हृदयश्वर पण्डितले जोखिममा रहेका वस्ती तथा समुदायको विपद बिमा जरुरी रहेको बताए । उनले स्थानिय सरकारले विपद बिमा कार्यक्रम विस्तार गर्न चासो नदेखाएको अवस्थामा प्रतिबद्ध परियोजनाले सहयोग गर्नुपर्ने सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।
प्रतिबद्ध तेस्रो परियोजनाले विपद् जोखिम न्यूनीकरणका लागि तयारीमा जोड दिईएको, समुदायको क्षमता अभिवृद्दि, भूउपयोग योजना तर्जुमा आदि कार्यलाई प्राथमिकतामा राखेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताए । उनले प्रकोपसँग जुध्न व्यापक सहकार्य आवस्यक रहेको र मिलेर काम गर्न जरुरी रहेको धारणा राखे ।
यस्तै उक्त बैठकका पिपुल इन निडका परियोजना प्रबन्धक शालिकराम घिमिरे, अनुज तिवारी र चेतन खड्काले प्रतिबद्ध १ र २ मा प्राप्त गरेका उपलब्धी र सिकाई तथा प्रतिबद्ध ३ को उद्देश्य र प्रमुख कार्यक्रम जानकारी गराएका थिए ।
प्रस्तुतिकरणमा पूर्वसूचना प्रणालीको विकास र विपद् उत्तरदायी सामाजिक सुरक्षा योजना निर्माण, प्रभावित क्षेत्रका लागि नमूना कार्ययोजना तयार गरी परीक्षण, पुनर्निर्माण र पुर्नस्थापना जस्ता क्षेत्रमा काम गर्ने लक्ष्य रहेको बताए ।
भौगर्भिक अध्ययन र प्राविधिक विश्लेषणमार्फत जोखिममा रहेका बस्तीहरूलाई वर्गीकृत गरिने, परियोजनाले संघीय, प्रादेशिक, र स्थानीय तहमा भूजोखिम व्यवस्थापन र पूर्वसूचना प्रणाली विकासका लागि साझेदारी गर्ने, सुरक्षित स्थल पहिचान, डिजिटाइजेसन, र आपतकालीन कार्ययोजना निर्माण कार्यमा प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने उनले बताए ।
कार्यक्रमले लिएको उद्देश्य उपयुक्त भएको र मन्त्रालय आवस्यक सहयोग र सहकार्यको लागि तयार रहेको बताए ।