धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हिंसा र आतंक सिर्जना गरेर मुलुकलाई भड्कालोमा जाख्न सकिन्छ भन्ने कुरा असम्भव भएको बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनतालाई भड्काएर हिंसा र आतंक सिर्जना गरि देशलाई भड्कालोमा जाख्ने कुरा सम्भव नभएको बताएका हुन् ।

उनले देशलाई पछाडि धकेल्ने गरि पूर्व राजाका नाममा भइरहेका गतिविधीको कुनै अर्थ नभएको पनि बताए । १५ चैतमा काठमाडौँको तीनकुुनेमा पूर्व राजाले जनकमान्डर बनाएर उत्पात मचाउने योजनाका योजनाकार दुर्गा प्रसाईँलाई पक्राउ गरेर प्रहरीले कानुनुको कठघरामा उभ्याउने प्रक्रिया थालेको बताउँदै हिंसात्मक गतिविधीको प्रतिकार गर्न आह्वान समेत गरेका छन् ।
‘पूर्व राजाले कमान्डर बनाएर समाजमा आतंक सिर्जना गर्न उत्पात मच्चाउने, लुटपाट गर्ने र आगजनी गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजी गरेर फिर्ता ल्याएको छ । हत्कडी लगाएको छ,’ पोखरेलले भने, ‘कानुुनको कठघरामा उभ्याउने प्रक्रिउया सुरु भएको छ । जनतालाई भडकाएर हिंसा र आतंक सिर्जना गरेर भड्कालोमा जाख्न सकिन्छ ठानेको छ भने सम्भव छैन ।’

मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुुपर्ने उनको भनाई थियो । अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै पोखरेलले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे । अहिले सामाजिक सञ्जालमा अराजकता फैलाउने काम भइरहेकाले इमानदारहरुले अगाडि आएर लोकतन्त्रको पक्षमा खबरदारी गर्नुपर्ने बताए ।
लोकतन्त्र स्थापना भएपछि मुलुकमा थुप्रै विकास, निर्माण र परिवर्तन भएको बताउँदै उनले तथ्यमा रहेर बहस गर्न जरुरी भएको जनाए । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक पूर्वाधार तथा मानव विकासको लामै तथ्यांक प्रस्तुत गरेको पोखरेलले राजनीतिक स्थायित्व अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।
‘छिमेकी मुलक चिन र भारतमा तीन-तीन कार्यकाल एकै व्यक्ति नेतृत्व गरिरहेको उदाहरण छ । तर हामीकहाँ त्यही अवधीमा कति प्रधानमन्त्री फेरिए, कति जना मन्त्री बने, मुख्यमन्त्री कति फेरिए ? कुुनै हिसाब छैन,’ पोखरेलले भने, ‘यो सबै राजनीतिक अस्थिरताको कारण हो । राजनीतिक स्थायित्वको खोजी अहिलेको मुख्य आवश्यकता हो । दुुरदर्शी नेतृत्व, बलियो राजनीतिक पार्टी र राजनीतिक रणनीतिले स्थायित्व दिन सकिन्छ ।’
मुलुकमा राजनीतिक स्थायित्व गर्ने समाथ्र्य नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएकाले मिसन ८४ ले एकल बहुुमतको सरकार बनाउने सामाथ्र्य निर्माण गर्ने उल्लेख गरे । विशेष सभालाई सम्बोधन गरेका पार्टीका अन्य नेताहरुले समेत इतिहास भइसकेको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका थिए ।
विशेष सभालाई पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटी कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
