कैलालीमा ‘पिसाब प्लान’ असफल, गोली खाएर समातिए

panchodaye

धनगढी । कैलाली प्रहरीले युवकमाथि धारिलो हतियार प्रहार गर्ने घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको छ।

Nast college

१५ जेठमा टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि क्याफेमा कफी पिइरहेको बेला खुकुरी र चक्कु प्रहार भएको थियो। घटनामा संलग्न रिदम ढुंगाना र मिलन चन्द त्यस दिनदेखि फरार थिए।

Nisharg hospital

प्रहरीका अनुसार बिहीबार उनीहरू भारततर्फ भाग्ने तयारीमा रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो। मोबाइल लोकेशनको आधारमा दिउँसो ३ बजे कैलारी गाउँपालिका–३ स्थित शिवरत्नपुरबाट दुवैलाई पक्राउ गरियो।

जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिएको दुवै जनालाई प्रहरी भ्यानमार्फत टीकापुर ल्याइँदै थियो। तर, भजनी नगरपालिका–७ स्थित हिक्मतपुर सामुदायिक वन क्षेत्रमा पुगेपछि पिसाब लागेको भन्दै भ्यानबाट झर्न अनुमति मागे। प्रहरीका अनुसार झरेपछि उनीहरू भाग्न थाले र त्यसक्रममा गोली चलाउनुपरेको थियो।

“सुरुमा दुई राउण्ड हवाई फायर गरिएको थियो,” प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहले बताए, “तर भाग्न नछाडेपछि बाध्य भएर गोली प्रहार गरिएको हो।”

प्रहरीले चलाएको गोली दुवैजनाको तिघ्रामा लागेको छ। घाइते ढुंगाना र चन्दको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीनराज बुढाथोकीका अनुसार टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको छ।

“पक्राउ परेका मिलन चन्दले विष्टको टाउकोमा खुकुरी प्रहार गरेका थिए भने रिदम ढुंगानाले पेटमा चक्कु हानेका थिए,” डीएसपी बुढाथोकीले बताए।

उनका अनुसार मुख्य योजनाकार भने अन्य तीन जना हुन्, जसको पहिचान भइसकेको छ र उनीहरू अझै फरार छन्। “यी दुईले हतियार प्रहार गरे पनि योजना बनाउनेहरू अझै फरार छन्,” उनले भने, “उनीहरूको खोजी तीव्र पारिएको छ।”

खुकुरी र चक्कु प्रहारबाट गम्भीर घाइते भएका टेकेन्द्र सिंह विष्टको काठमाडौँको टिचिङ अस्पतालमा उपचार गरिएको थियो। हाल अवस्था सुधार भएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...