कम्पनी रजिष्ट्रारको कार्यालयमा निगरानी बढाउन उद्योग मन्त्री भण्डारीकाे निर्देशन

cp new add
Nisharg hospital
Ba n

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयबारे अनियमितताका प्रश्नहरू उठेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नियमनका लागि चासाे देखाएका छन् ।

भण्डारीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्दै त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसिटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिएका छन् ।

कम्पनी रजिष्ट्रारकाे कार्यालयका सबै गतिविधीहरू मन्त्रालयका सचिवको कार्यकक्षबाटै अवलोकन गर्न सकिने व्यवस्था मिलाउन समेत निर्देशन दिएकाे मन्त्रीकाे सचिवालयले जनाएको छ ।

कर्मचारीहरूले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सफ्टवेयर डाउन सम्मको क्रियाकलाप भएको कुरा सार्वजनिक भएको थियो ।

उक्त विषयमा विभिन्न संयन्त्र मार्फत अनुसन्धान भइरहेको र प्रमाण पाउनासाथ सम्बन्धित कर्मचारीलाई कारवाही गर्ने मन्त्री भण्डारीले बताएका छन् ।

कम्पनी दर्ता, नवीकरण लगायतको कामका लागि केही समयदेखि थन्किएका पेन्डिङ फाइलका काम असार मसान्तभित्र टुंगोमा पुगाउन पनि निर्देशन दिइएको छ ।

मन्त्रीको निर्देशनपछि शुक्रबार औद्योगिक तथा लगानी प्रवर्द्वन महाशाखा प्रमुख जितेन्द्र बस्नेत नेतृत्वको टोली कम्पनी रजिष्ट्रार को कार्यालय पुगेको थियो ।

उक्त टोलीसँग कर्मचारीहरूले काम गर्ने क्रममा केही कानुनी र प्राविधिक समस्या रहेका कारण काममा ढिलाइ भइरहेको गुनासो गरेका छन् । उनीहरूले हाल सञ्चालनमा रहेका २ वटा अनलाइन प्रणालीका कारण केही समस्याहरू आइरहेको बताएका छन् ।

पूर्ण अनलाइन प्रणालीमा गइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयमा अझै लाईन बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।
मन्त्रालयका औद्योगिक तथा लगानी प्रवर्द्वन महाशाखा प्रमुख बस्नेतले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बताउँदै असार मसान्त भित्र बाँकी रहेका काम  सम्पन्न गर्नुपर्ने बताए ।

उनले कार्यालयका जोकोही कर्मचारीबाट पनि आर्थिक अनियमितता भएको भए कारबाही गर्ने बताउँदै आर्थिक अनियमिततामा विषयमा शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयले कम्पनी रजिस्टारको कार्यालयलाई निर्देशनात्मक पत्र समेत पठाएको छ । उक्त पत्रमा लेखिएको छ “कम्पनी रजिस्ट्रार कार्यालयले सञ्चालनमा ल्याएको CAMIS प्रणालीमा लामो समय देखीका निवेदनहरू पेण्डिङ रहेको र अनलाइन प्रणाली अवलम्बन गर्दा पनि कार्यालय परिसरमा सेवाग्राहीहरू उपस्थित नभई काम नहुने र कार्यालयमा असम्बन्धित मान्छेहरूको समेत चहलपहल भई भिडभाडको अवस्था रहेको जनगुनासो आएको सन्दर्भमा मन्त्रालयबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन/निरीक्षण समिति गठन गरी खटाइएको छ ।”

उक्त पत्रमा कम्पनीहरूको अद्यावधिक विवरण छुट, सहुलियतका लागि निवेदन र अन्य प्रकारका कम्पनी सम्बन्धी सेवा लिन ठुलो सङ्ख्यामा आर्थिक वर्षको अन्त्यतिर अनलाइन प्रणालीमा आवेदन प्राप्त भएको र सो कार्य तत्काल सम्पन्न गरी छिटो, छरितो सेवा उपलब्ध गराउन कार्यालयले नियमित कार्यालय समय बाहेक बिहान/बेलुका र बिदाको दिन समेत निर्बाध रूपमा कार्यालय सञ्चालन गर्ने सम्बोधन गर्दै अगामी दिनमा गुनासो रहित सेवा व्यवस्था मिलाई सेवा प्रवाह समयमै गरी जनगुनासा समाधान गर्न निर्देशन दिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...