


काठमाडौं । काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।


एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको खड्काले बताए ।



जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ । कैलालीका एसपी नरेन्द्र चन्दले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।
उनले नेपाल प्रेससँग भने, ‘केन्द्रमा पनि परेको छ । हामी अहिले बुझ्छौं केन्द्रमा कुरा गरेर अघि बढ्छौं ।’
