


धनगढी। कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको अवधि सकिएको छ ।


जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा असोज २० गतेसम्मको समय दिएको थियो।



उक्त अवधि सकिएको आज तेस्रो दिन हो । तर, २४ भदौमा भागेका तीन सय आठ जना कैदीबन्दी अझै फरार छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म तीन सय ६४ जना कैदीबन्दी भने कैलाली कारागार फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले २० गतेसम्म पनि सम्पर्कमा नआएका कैदीबन्दीलाई अब थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए। उनका अनुसार कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप कारबाही हुने छ। फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जोशीले बताए।
यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल यसअघि नै गठन भइसकेको छ।
