


काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।


इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।


अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।
इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर, अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताए ।
राजदूत पण्डितले भने, ‘अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन । उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं ।’
परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको तर थाहा हुन नसकेको बताउँछन् । मन्त्रालयका एक कर्मचारी विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउनसक्ने बताउँछन् ।
‘इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोला भन्ने खालको खबर आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात छ । बुधबार बेलुका सार्वजनिक गरिएको ३३ सेकेण्डको भिडियो पनि त्यतिबेलैको पुरानो भएको इजरायलका लागि नेपाली राजदूत पण्डित बताउँछन् ।
