
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा निर्वाचनमा विजयी हुन कुनै पनि समस्या नरहेको दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सामाजिक सञ्जालमा हल्लाखल्ला भए पनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उनको भनाइ थियो ।
शुक्रबार (माघ १६) काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा ५ का मतदाता राजनीतिक रूपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना नरहेको पार्टीको निष्कर्ष रहेको समेत बताए ।
“झापा ५ का जनता राजनीतिक रूपमा जागरुक जनता हुन्, जसले पञ्चायतविरुद्ध युद्धको शंखघोष गरे, हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । त्यो ठाउँका जनता पपुलिजम र एनार्किजमको प्रभावमा परिरहन परिणामलाई नै तलमाथि पार्न सक्छन् भन्ने खालको मान्यता पार्टीको छैन । सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको प्रभाव त पारेको छ । तर, हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौँ । त्यहाँ कुनै प्रकारको जोखिम छैन,” उनले भने ।
राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने जिकिर पनि पोखरेलले गरे ।
महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गरे । उनले आफ्नो पार्टीको प्रतिस्पर्धा कांग्रेससँग हुने पनि बताए ।

