
धनगढी। सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जस्तै हुलियामा देखिएका एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
१३ माघमा कैलाली पुगेका शाहले हालसम्म सार्वजनिक रूपमा कुनै अभिव्यक्ति दिएका छैनन्। उनी रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकलाई प्रायः गाडीभित्रैबाट हात हल्लाउँदै एक ठाउँबाट अर्को ठाउँ पुगिरहेका छन्। तीन दिनको अवधिमा उनले सुदूरपश्चिमका सबै जिल्लाका मुख्य स्थानको भ्रमण तथा भेटघाट भने अझै सकेका छैनन्।
शाह डोटीमा रहेका बेला बिहीबार सामाजिक सञ्जालमा बालेनकै हुलियामा देखिएका एक व्यक्तिले उनकै शैलीमा कारको रुफबाट आधा शरीर निकालेर घण्टी बजाउँदै हात हल्लाएको भिडियो सार्वजनिक भयो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियोमा देखिएका ती व्यक्तिलाई ‘डमी बालेन’ को संज्ञा दिएका छन्।
उक्त भिडियो पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की बजारको भएको खुलेको छ। गाडीबाट बालेनकै हुलियामा देखिएर हात हल्लाउने व्यक्ति टीकापुरका स्थानीय गोपाल कोइराला रहेको पुष्टि भएको छ।
अनुहारमा बालेनकै जस्तो दारी, कालो टोपी, चस्मा र कालो पोशाक लगाएका उनलाई धेरैले बालेन नै ठानेका थिए। तर उनी पुग्नुभन्दा केही मिनेटअघि मात्रै प्रहरीको स्कर्टिङसहित बालेन लम्की बजार पार गरिसकेका थिए। बालेन त्यहाँ केही सेकेन्ड मात्रै रोकिएर अघि बढेका थिए। त्यसपछि उनकै हुलियाका व्यक्तिले गाडीबाट हात हल्लाउन थालेपछि सर्वसाधारण अलमलमा परेका थिए।

डेढ महिनाअघि मात्रै अनलाइनमार्फत रास्वपाको सदस्यता लिएको बताउने कोइरालाले आफू बालेनको समर्थक भएकाले विगतदेखि नै उनको जस्तै भेषभूषामा देखिँदै आएको दाबी गरेका छन्। बालेन कैलाली आउने भएपछि स्वागत र भेटघाटका लागि उस्तै हुलियामा लम्की पुगेको तर भेट्न नपाएको उनको भनाइ छ।
‘अस्ती बालेन आउने दिन स्वागतका लागि म पनि गाडीमा गएको थिएँ। बालेन मन पर्ने भएकाले पहिलेदेखि नै उस्तै भेषभूषा बनाउँदै हिँडेको हुँ,’ कोइरालाले भने, ‘त्यही बेला पत्रकार साथीहरूले भिडियो खिच्नुभएको रहेछ। अहिले डमी बालेन भनेर कन्ट्रोभर्सी बनाइएको छ।’

