
धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार नरेन्द्र बहादुर खड्काले भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित शैलेश्वरी मन्दिरमा कसम खाएका छन्। इमानदार र जवाफदेही राजनीति गर्ने अठोटका साथ आफू चुनावी प्रचारप्रसारमा उत्रिएको खड्काले बताएका छन्।
डोटीको ऐतिहासिक राजधानी सार्ने निर्णयविरुद्ध निरन्तर संघर्ष गर्दै डोटीको पहिचान जोगाउन लामो समयदेखि पहल गर्दै आएको बताउँदै खड्काले डोटीका मतदाता आफ्नो पक्षमा रहेको बताएका छन्। उनले मतदाताले आफूलाई नयाँ, इमानदार र जवाफदेही राजनीतिक संस्कारको प्रतिनिधिका रूपमा लिएको बताएका छन्। दलगत र सत्ता–स्वार्थभन्दा माथि उठेर जनताको हक र हितलाई प्राथमिकतामा राखेर काम गर्ने खड्काले प्रतिवद्धता जनाएका छन्।
उनले भने, आज पूर्णिमाको दिन शैलेश्वरी माताको मन्दिरमा पुगेर भ्रष्टाचार, पक्षपात र कसैमाथि अन्याय नगर्ने कसम खाएको छु, मैलै आजैबाट शैलेश्वरी मातालाई साक्षी राखेर प्रचारप्रसार अभियान थालेको छु, भ्रष्टाचार नगर्ने र अन्याय कसैमाथि नगर्ने प्रतिवद्धता गर्दछु।
राजनीतिलाई सेवाको माध्यम ठानेर अघि बढेका खड्काले भ्रष्टाचार, भागबण्डा र कुशासनविरुद्ध स्पष्ट र निडर धारणा राख्दै आएको डोटीका शङ्कर ऐरले उल्लेख गरेका छन्। उनले भने, युवाको आशा र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्ने उनी भाषणमा मात्र होइन, व्यवहारमै संघर्ष गर्ने साहस भएका नेता मानिन्छन्।
डोटीबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीको पीडालाई आफ्नै पीडा ठान्ने भावना बोकेका खड्का सत्तामा रहेका ठूला दलहरूको दबाबका बाबजुद पनि डोटीबासीको पक्षमा अडिग रहने साहस राख्ने नेताका रूपमा प्रस्तुत भएको रास्वपा समर्थकहरूको दाबी छ। उनीहरूले खड्कालाई डोटीमा परिवर्तनको विकल्पका रूपमा हेरिएको बताएका छन्।

