

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन् ।
सोमबार माघ (२६) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’सहित आफ्नो पार्टी राष्ट्रिय संकट सामना गर्न तयार रहेको उद्घोष गरे ।
दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गर्दै विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फन्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोसिस भइरहेको धारण राखे ।
“विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत भएपनि नभए पनि सोसल मिडियामा स्टन्ट गरेकै भरमा साम्राज्यवादले विभिन्न देशमा लोकप्रियतावादलाई पपुलिजमलाई प्रस्तुत गर्ने र लोकतन्त्रविरुद्ध समाजवादमाथि प्रहार गर्ने गरेको छ । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना आएको छ । यहाँ लोकतन्त्रमाथि प्रहार गर्ने अहिलेको भूराजनीतिक चलखेलजस्तो छ,” उनले भने ।
यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उनको टिप्पणी छ । गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी पनि उनले गरे ।
जेनजी आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याउँदै त्यो आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तलाई एकताबद्ध गरी २६ वटा सानाठूला पार्टी मिसिएर नेकपा निर्माण गरिएको उनको भनाइ छ ।
उनले आजको जटिल राजनीतिक अवस्थामा निर्वाचन नै जनतामा जाने र नयाँ जनअनुमोदित प्रतिनिधिसभाले नै युवाका मागहरू सम्बोधन गर्ने उत्तम माध्यम भएको पनि बताए ।
सोसल मिडियालाई प्रचारको माध्यम बनाए पनि जनतासँगको प्रत्यक्ष भेटघाट र टोलटोलको प्रचार नै बढी प्रभावकारी हुने उनको तर्क छ ।

