रास्वपा कैलाली-५ का उम्मेदवार चन्दले सार्वजनिक गरे प्रतिबद्वतापत्र

cp new add
Nisharg hospital
Ba n

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कैलाली–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार आनन्द बहादुर चन्दले क्षेत्रको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, खेल, पर्यटन, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राख्दै विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनले संघीय संसदमा नीति, कार्यक्रम र बजेटलाई तथ्यमा आधारित बनाउँदै स्रोत–साधनको न्यायोचित वितरण र प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरेका छन् ।

कैलाली–५ लाई सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने उनको लक्ष्य रहेको छ।

प्रतिबद्धतामा सेती प्रादेशिक अस्पताल र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एकीकृत गर्दै चिकित्सा शिक्षा र विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने योजना उल्लेख छ मुटु, मिर्गौला, क्यान्सर लगायतका रोगको उपचार सेवा सुदृढ गर्दै डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन र एम्बुलेन्स नेटवर्क विस्तार गरिने जनाइएको छ।

सिकलसेल र थालासेमियाको नियमित स्क्रिनिङ, स्वास्थ्य बीमा पहुँच विस्तार, नवजात शिशु तथा मातृ स्वास्थ्य सुदृढीकरण र ‘स्वस्थ धनगढी’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।

सुदूरपश्चिममा प्राविधिक तथा उच्च शिक्षाको असन्तुलन अन्त्य गर्दै विश्वविद्यालय, प्राविधिक कलेज र तालिम केन्द्रलाई एकीकृत शिक्षा–सीप प्रणालीका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ ।

एआई, रोबोटिक्स, डिजिटल टेक्नोलोजी, कृषि, वन, स्वास्थ्य र विज्ञान क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन, स्नातकोत्तर तथा पीएचडी तह सुरु गर्ने र विद्यालय तहमा डिजिटल कक्षा, शिक्षक दरबन्दी व्यवस्थापन तथा छात्रवृत्ति विस्तार गरिने उल्लेख छ ।

विद्यालय छोड्ने दर घटाउन सीपमूलक तालिम र वैदेशिक रोजगारीमा जाने युवालाई प्रि–डिपार्चर तालिम उपलब्ध गराउने योजना पनि समेटिएको छ।

खेल पूर्वाधार अभाव हटाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

विद्यालयदेखि प्रदेशस्तरसम्म प्रतिभा पहिचान कार्यक्रम, आवासीय खेल एकेडेमी स्थापना, महिला तथा समावेशी खेल सहभागिता प्रवर्द्धन र खेल विकास कोष स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।

धनगढीलाई सुदूरपश्चिमको आधिकारिक पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्दै पर्यटक सूचना केन्द्र स्थापना गर्ने, धार्मिक तथा प्राकृतिक स्थललाई एकीकृत पर्यटन मार्गमा जोड्ने योजना अघि सारिएको छ ।

थारू समुदायको संस्कृति, होमस्टे कार्यक्रम, सांस्कृतिक संग्रहालय र स्थानीय उत्पादनलाई पर्यटन बजारसँग जोड्ने विशेष नीति ल्याइने उल्लेख गरिएकाे छ ।

धनगढी विमानस्थल स्तरोन्नति, गुणस्तरीय सडक सञ्जाल, पुल निर्माण, सार्वजनिक यातायात विस्तार र कृषि उत्पादन ढुवानीका लागि संकलन केन्द्र स्थापना गर्ने योजना समेटिएको छ।

स्थानीय उद्योग, उद्यमशीलता र सीप विकासमार्फत रोजगारी सिर्जना गरी युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

चन्दले संविधानले दिएको अधिकार नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने वातावरण सिर्जना गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै कैलाली–५ लाई सुरक्षित, सम्मानित र समृद्ध बनाउने यात्रामा साथ र विश्वासको अपेक्षा गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...