रास्वपा सुदूरपश्चिम सभापति विष्ट: टिकट पाएनन्, तर पार्टी जिताउन नेतृत्व गरे

cp new add
Nisharg hospital
Ba n

धनगढी । इन्जिनियर प्रकाश विष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश सभापति हुन्। भारतसहित विभिन्न देशमा बसेर अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरूमा प्राविधिक र व्यवस्थापकका रूपमा काम गरेको अनुभव उनीसँग छ।

केही वर्षअघि मात्र उनी स्वदेश फर्किएका हुन्। २०७५ को अन्त्यतिर नेपाल फर्किएका विष्टले व्यवसाय तथा कृषि उपकरण आविष्कारको क्षेत्रमा काम गरिरहेका थिए। त्यही क्रममा २०७९ मा टेलिभिजन प्रस्तोता रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भयो र विष्ट पनि त्यसमा जोडिए।

सामाजिक रुपान्तरण, सुशासन र परिवर्तनको नारासहित उदाएको रास्वपाका लागि सुरुवाती दिनमा संगठन विस्तार चुनौतीपूर्ण थियो। त्यतिबेला पार्टीमा सक्रिय नेता–कार्यकर्ताको संख्या निकै कम थियो। विष्ट आफ्नो सक्रियता, दृढता र दक्षताका कारण पार्टी नेतृत्वको विश्वास जित्न सफल भए। २६ माघ २०७९ मा उनी रास्वपाको सुदूरपश्चिम प्रदेश सभापतिमा सर्वसम्मत चयन भए।

त्यसपछि उनले प्रदेशका सबै जिल्लामा संगठन विस्तार गर्दै पार्टीलाई बलियो बनाउँदै लगे। संस्थापक प्रदेश सभापति भए पनि विष्टको स्थायी बसोबास कैलालीको टीकापुरमा छ। उनको पुख्र्यौली घर बैतडीको पाटन नगरपालिका–३ बुङडामा हो। तर उनको बाल्यकाल भने टीकापुरमै बितेको थियो। २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कैलाली–१ बाट उम्मेदवार बन्न चाहन्थे। तर पार्टीले टिकट नदिएपछि उनी उम्मेदवार बन्न पाएनन्।

अहिले उक्त क्षेत्रबाट रास्वपाकी कोमल ज्ञवाली सांसद निर्वाचित भएकी छन्। ज्ञवालीले रास्वपाका जनकराज चौधरीलाई पाँच हजारभन्दा बढी मतले पराजित गर्दै जित हासिल गरेकी हुन्। उनले १७ हजार ८६२ मत प्राप्त गर्दा चौधरीले १२ हजार ८६७ मत पाए। उम्मेदवार जिताउन नेतृत्व प्रदेश सभापति विष्टलाई पाँचमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी पार्टीभित्र थियो।

सोही आधारमा उनको नाम कैलाली–१ बाट सिफारिस गरिएको थियो। टीकापुर नगर समिति, जानकी र जोशीपुर गाउँ समितिले समेत उनको नाम सर्वसम्मत सिफारिस गरेका थिए। तर अन्तिम समयमा पार्टीले भर्खर नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रवेश गरेकी कोमल ज्ञवालीलाई टिकट दियो। टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै यस क्षेत्रमा पर्ने नगर तथा गाउँ समितिहरूले पार्टी केन्द्रलाई निर्णय सच्याउन लिखित रूपमा आग्रह पनि गरे। तर पार्टी नेतृत्वले नाउपा पक्षको व्यवस्थापनका लागि ज्ञवालीलाई टिकट दिनुपरेको बताएको थियो।

साथै, संगठन निर्माण र विस्तारमा प्रदेश सभापतिको योगदानको उचित मूल्यांकन हुने भन्दै उम्मेदवार जिताउन लाग्न आग्रह गरिएको थियो। ‘पार्टी नेतृत्वले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको समन्वय मिलाउनुपर्ने अवस्था आएको भन्दै सभापति ज्यू आफैं पछाडि सर्नुभएको थियो,’ रास्वपाका एक नेताले भने, ‘सबै पक्ष मिलाएर पार्टी बलियो बनाउनुपर्छ, टिकट नपाए पनि हुन्छ भन्नेमा उहाँ आफैं तयार हुनुभयो।’

ज्ञवाली यसअघि रेशम चौधरी संरक्षक रहेको नाउपाकी संस्थापक केन्द्रीय कोषाध्यक्ष थिइन्। पछि लक्ष्मण थारु लगायतका नेतासँगै उनी पनि रास्वपामा प्रवेश गरेकी थिइन्। पार्टीको निर्णय स्वीकार गर्दै सभापति विष्ट टिकटको विषय थाती राखेर प्रदेशभर पार्टीका उम्मेदवार जिताउन सक्रिय भए। रास्वपाको राष्ट्रव्यापी लहरबीच आफू उम्मेदवार बन्न नपाए पनि सुदूरपश्चिमका १६ मध्ये १० क्षेत्रमा पार्टीका उम्मेदवार जितेकोमा उनी गर्व गर्छन्। ‘मलाई सांसदको टिकट पाउनु नै मुख्य कुरा होइन,’ विष्ट भन्छन्, ‘म पार्टीको नीति, विधि र सिद्धान्तमा विश्वास गर्ने मान्छे हुँ। मभन्दा पनि पार्टी र पार्टीका उम्मेदवार जित्नु महत्वपूर्ण हो।’

उनका अनुसार अहिलेको नतिजा कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव भएको होइन। सिंगो पार्टी पंक्ति र मतदाताको उत्साहजनक साथले सुदूरपश्चिममा अपेक्षाभन्दा राम्रो नतिजा आएको उनले बताए। पार्टीबाट निर्वाचित सांसदहरूले जनपक्षीय काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

पेशाले इन्जिनियर रहेका विष्टले इम्बेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन्। करिब १५ वर्ष भारतमा बसेर उनले हनीवेललगायत विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा प्राविधिक, कम्पनी म्यानेजर तथा व्यवस्थापकका रूपमा काम गरेका छन्। यस क्रममा उनले जर्मनी र अमेरिकालगायतका देशमा पनि काम गर्ने अवसर पाएका छन्।

नेतृत्वमा सुदूरपश्चिममा रास्वपाले राम्रो नतिजा निकालेको छ। कैलालीका पाँच र कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा पार्टीले क्लीन स्वीप गरेको छ। साथै डडेल्धुरा र बैतडी पनि जितेको छ। छिमेकी कर्णाली प्रदेशमा भने रास्वपाले एउटा क्षेत्रमा मात्र जित हासिल गरेको छ। नेताहरूका अनुसार रास्वपाको लहर र प्रदेश नेतृत्वको सक्रियताका कारण सुदूरपश्चिममा राम्रो नतिजा सम्भव भएको हो।

यस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले समान तीन–तीन क्षेत्र जितेका छन्। कांग्रेसले डोटी, अछाम–१ र बाजुरा जित्दा एमालेले दार्चुला, बझाङ र अछाम–२ मा विजय हासिल गरेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...